पोखरामा म्युजिक अवार्ड वितरण, कलाकारले संघर्ष गरे नै परिणाम आउँछः बास्कोटा

पोखरा, १२ पौष/ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति संगीतकार शम्भुजित बास्कोटाले ‘फेवातालको आँगनमा लै लै माछापुच्छ«े छाँया, जीवन मेरो सेती बगर विना तिम्रो माया’ आफैले संगीत भरेको गीतको स्थायी उच्चारण गरेर कार्यक्रमको उद्घाटन गरे ।

कलाकार, संगीतकार, सिनेमाकर्मीलाई सम्मान र कदर पत्र दिदै बास्कोटाले भने ‘कलाकारले संघर्ष गरे परिणाम सुन्दर हुन्छ, आफूले हिँडेको बाटोमा विचलित नभई यात्रा गर्दा नै गन्तव्यमा पुगिन्छ’ उनले कलाकारलाई उर्जा थपिदिए ।

बास्कोटाले २४ वर्ष अगाडि रवि लामिछानेको ‘यहाँको चलन यस्तै छ’ कार्यक्रमको प्रमुख अतिथि भएर फेवातालको किनारमै आएको स्मरण गर्दै यो कार्यक्रमको संयोग पनि तालकिनारा मै परेको बताए ।
नायक धिरेन शाक्यले कलाकारको सम्मान र कदर हुनु काममा उत्साह थपिनु हो भन्दै सम्मानितहरूलाई हौस्याएका थिए । गायक यम बरालले कलाकारको योगदान बासी नहुने बताउँदै सिर्जनशील व्यक्ति बाँचिरहने जनाए ।

संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रमा टिक्नका लागि संघर्षको विकल्प नभएको हुँदा निरन्तरताले नै सफलताको स्वाद चाख्न पाइने भएकाले नवप्रतिभालाई अगाडि बढ्न प्रेरणा दिए ।
नेपाली चलचित्र र गीत संगीतको फाँटमा एक दशक लामो योगदान दिएका कारण पोखराका गायक तथा चलचित्रकर्मी सोभित बस्याल र सिनेकर्मी गणेश ढकाललाई कदरपत्र सहित सम्मान गरिएको थियो । पाँच दर्जन भन्दा बढी गायक, गायिका, नायक, नायिका, मोडेल, संगीतकार, निर्देशक र सिनेमाकर्मी उक्त अवार्डबाट सम्मानित भएका छन् ।

पोखरा आफैमा प्राकृतिक स्टुडियो हो, हामीले दिने सम्मान र कदर राजधानीभन्दा बाहिर पोखरालाई छानेका हौं । भिजिट नेपाल २०२० को सन्दर्भमा आन्तरिक पर्यटन विकास र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम फेवा किनारमा गरिएको जानकारी आयोजक आर.के.सुवेदीले दिएका थिए ।

बक्स अफिस इण्टरनेशन गु्रपको आयोजनामा राष्ट्रको सर्वश्रेष्ठ म्युजिक अवार्ड फेवातालको किनारमा वितरण गरिएको थियो । नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१९ को वितरण कार्यक्रम रामबहादुर सुवेदीको सभापतित्वमा भएको थियो भने सञ्चालन चलचित्र निर्देशक सोभित बस्नेतले गरेका थिए ।

कमेन्टहरु
Loading...