तेक्वान्दो एकेडेमी निर्माण गर्ने उद्देश्यसहित किनिएको जग्गा २६ वर्षदेखि उपयोग विहीन

पोखरा, २१ साउन/ २६ वर्ष अघिको समय हो । जतिबेला नेपालमा भर्खरै तेक्वान्दो खेल भित्रिसकेको थियो । कोरियन प्रशिक्षक ‘सिन’ले नेपालमा तेक्वान्दो भित्रयाए । उनै सिनले २६ वर्ष अघि पोखरामा व्यक्तिगत लगानीमा जग्गा किनिदिए । नेपालको हरियाली र पोखराको सौन्दर्यताले सिनलाई छोयो ।

नेपालमा तेक्वान्दोको विकास र विस्तार गर्ने योजनासहित एकेडेमी स्थापना गर्ने उद्देश्य राखिएको थियो । पोखरा बजार क्षेत्रभन्दा केही परको निर्मलपोखरीमा ३–३–०–१ जग्गा किनियो । जग्गा तेक्वान्दो प्रशिक्षक दिपराज गुरुङ र नारायणबहादुर गुरुङको नाममा पास गरियो । २०५० साल साउन १७ गते जग्गा पास भई गुरुङ द्वयको नाममा संयुक्त रुपमा लालपुर्जा बन्यो ।

तत्कालिन निर्मलपोखरी गाविस वडा नं ९ मा थियो । अहिले पोखरा महानगरपालिका वडा नं २१ भएको छ । हजारमा किनिएको जग्गा अहिले लाखौं रुपैयाँ पर्छ । साँध जोडिएको छ माउण्टने ग्लोरी रिसोर्टसँग । हिजो अनाकण्टार थियो । अहिले बहुमूल्य बनेको छ । जग्गा कतिमा खरीद गरियो ठ्याक्कै यकिन छैन् ।

तर स्थानीयको भनाई अनुसार ५० हजार रुपैयाँ भन्दा कम मूल्यमा खरीद गरिएको थियो । २६ वर्ष अघि तेक्वान्दोको लागि खरीद गरिएको जग्गा अग्रज तेक्वान्दो खेलाडी (केहीलाई मात्रै ) जानकारी थियो ।

साढे दुई दशक वित्दा समेत जग्गामा कुनै काम भएको छैन् । जग्गा खरीद गरिएको मर्म भने तेक्वान्दोको विकास गर्ने योजना नै भएको अग्रज तेक्वान्दो खेलाडी बताउँछन् । जुन मर्म अनुसार जग्गा लिइएको हो त्यसको कर्म र धर्म पनि पुरा भएन् । जग्गा अहिलेसम्म कुनै प्रयोजनमा आएको छैन् । लामो समय वित्दा समेत जग्गाप्रति चासो नदिएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अगुवाईमा जग्गाको भोगाधिकार तेक्वान्दो संघलाई दिनुपर्ने उठान गरे ।

‘लामो समय भईसकेछ । जग्गाको उपयोग गर्नुपर्छ । कोलाहलरहित बातावरणमा खेलाडीले प्रशिक्षण गर्न पाउँछन् ।’ उनको भनाई थियो । जग्गालाई पोखरा आईपुगेका कोरियन प्रशिक्षक सिनले तेक्वान्दो खेलको विकासमा काम गर्दै आएको संस्था गुडविल कोअपरेशन सर्भिस(जिसिएस)लाई हस्तान्तरण गर्ने सार्वजनिक गरे ।

जिसिएस संस्था नेपालमा छैन् । संस्था नेपालमा दर्ता गर्नुपर्ने छ । संस्था दर्ताको लागि काम अगाडि बढाईएको छ । ‘जतिसक्दो छिटो नेपालमा जिसिएसको शाखाको रुपमा स्थापित गरेर जग्गा संस्थाको नाममा ल्याउँछौं ।’ तेक्वान्दो प्रशिक्षक समेत रहेको दिवाकर महर्जनले भने–‘ नेपाल गुडविल कोअपरेशन सर्भिस दर्ता गरेपछि जग्गाको स्वामित्व हाम्रो नाममा ल्याउँछौ ।’

उनी जिसिएस अमेरिका शाखाका निर्देशक समेत हुन् । उनी पनि जग्गाकै भोगाधिकारको विषयमा छलफल गर्न अमेरिकाबाट पोखरा आईपुगेका थिए । जिसिएसले विकासोन्मुख देशहरुमा तेक्वान्दो खेलको विकास र विस्तारको लागि काम गर्दै अएको छ । कम्बोडिया, श्रीलंका लगायतका देशहरुमा तेक्वान्दोको खेलको लागि पुर्वाधार निर्माण गर्न अग्रसरता देखाईरहेको छ ।

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङवोई चोई समेत पोखरा आएका थिए । चोई केही दिन अघि मात्रै नेपाल भ्रमणमा आएका थिए । । चोईको परिवार र सिनको परिवार पोखरा आउँदा जग्गाको विषयमा छलफल भएको थियो । छलफलमा तेक्वान्दो प्रशिक्षक दिपराज गुरुङको उपस्थिति थियो । कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ तथा प्रशिक्षक बलराम लामा, कास्की जिल्ला खेलकुद विकास समितिका निर्वतमान कोषाध्यक्ष दिपकबहादुर गोदार पनि थिए ।

‘जग्गा मेरो होईन । सिनले जसलाई भन्नुहुन्छ म अहिले भने अहिले नै पास गरिदिन्छु ।’ दिपराज गुरुङले भने–‘आफनै तर्तेन सकेको छैन् यो अनाकण्टारको जग्गा तत्कालै सिनले चाहे अनुसार दिन्छु ।’ हिजो जग्गा किन्दा तेक्वान्दो संघ थिएन् । जग्गा तेक्वान्दो संघलाई नै दिन्छु भनेर सिनले नभनेको उनी दावी गर्छन् । ‘त्यसैले उनको इच्छा अनुसार नै लेखेर दिने हो ।’ उनको भनाई थियो ।

उनले आफनो नामममा लालपुर्जा भएपनि कति क्षेत्रफल र कतिमा किनिएको हो जानकारी नै नभएको बताए । ‘मेरो नागरिकता मागे । नागरिकता दिएँ । पछि किन मागेको हो भनेर सोधें ।’ उनले भने । जग्गा एनजिसिएस (नेपाल गुडविल कोअपरेशन सर्भिस)को नाममा ल्याउन दिपराज र नारायण साथै हुनुपर्ने कानूनी प्रावधान छ । नारायणबहादुर गुरुङ भने हाल अमेरिकामा छन् ।

कमेन्टहरु
Loading...