स्क्वासको पुर्वाधार तयार पार्न डेढ करोड रुपैयाँको प्रस्ताव

पोखरा, २ जेठ/रातो घरबाट शुरु भएको स्क्वास खेल दुई दशक वित्यो । पस्र्याङस्थित राम कोईरालाको निजी घरबाट शुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ । घरभित्रै सीमित रहेको खेल स्क्वास पोखरा रंगशाला परिसर भित्र छिरेपछि मात्रै सर्वसाधारणप्रति चासो र अभिरुची बढ्दै गएको हो ।

यद्यपी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल र गण्डकी प्रदेशले २ स्वर्ण पदक जित्दै इतिहास कोरिरहदाँ नवौं राष्ट्रिय खेलकुदमा भने क्लिन स्वीप गर्ने योजनामा छ । निजी े घरभित्रै सीमित खेलाडीले मात्रै खेल्दै आएका थिए । सर्वसाधारणलाई त्यसबारे जानकारी नै थिएन् ।

दुई वर्ष अघि मात्रै निजी लगानीमै स्क्वासको भौतिक संरचना निर्माणसँगै बनाईएको एउटा कोर्टले आम सर्वसाधारणको चासो बढाईदिएको छ । त्यही एउटा कोर्टमा गण्डकी प्रदेशस्तरीय छनोट खेल टुग्याउँदै आठौंं राष्ट्रिय खेलुकद प्रतियोगितामा खेलाडी पठाइएको थियो ।

‘पोखरामा स्क्वास खेलको विकास पस्र्याङको रातो घरबाटै शुरु भएको हो । हिजो घर बनाइएको कोर्टले सीमित घेराभित्र मात्रै थियो । निजी लगानीमै रंगशालाभित्र भौतिक संरचना तयार भएपछि सबैले चासो दिन थालेका छन्’ स्क्वास ¥याकेट एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले भने–‘रंगशालाभित्र भएपछि स्क्वासको प्रचारप्रसार बढेको छ ।

नयाँ खेलाडीले खेल्न चासो दिएका छन् ।’ उनले अब विद्यालयस्तर देखि नै स्क्वास खेलको प्रचार प्रसार गर्दै शुरुवात गर्ने बताए । ‘ अभियान चलाएका छैनौं तर सोंच भने छ ।’ उनको भनाई थियो ।

नेपालमा स्क्वास खेल फराकिलो बन्न सकेको छैन् । गण्डकी प्रदेशका अन्य जिल्लामा पुग्न सकेको छैन् । पोखरामा मात्रै स्क्वासको भौतिक संरचना निर्माण गरिएको छ । पोखरा भन्दा बाहिरी क्षेत्रमा भने यो खेलको विस्तार हुन सकेको छैन् । काठमाडौंमा पनि यस खेलको संरचना निर्माण गरिएको छ ।

केही क्षेत्रले आफनो व्यक्तिगत पहलमा निर्माण भएपनि प्रभावकारी बन्न सकेको छैन् । ‘बाहिर कोर्ट छैन् । त्यसैले प्रचारप्रसार हुन सकेको छैन् ।’ उनले सुनाए–‘ अब विस्तारै स्क्वासले गति लिनेमा विश्वास छ ।’ । ‘इण्डोर भएकै कारण पनि हामीले चाहेअनुसार प्रचारमा ल्याउन सकिएको छैन् ।’ संघका अध्यक्ष श्रेष्ठले भने–‘स्कुल देखि नै प्रशिक्षण गराउन जरुरी छ । त्यसको लागि स्कुलमै गएर स्क्वास खेलको बारेमा जानकारी दिनुपर्छ ।’

पोखरा रंगशालाभित्र टेनिस कोर्टको भित्रको जग्गामा स्क्वासको संरचना बनाइएको छ । संरचनाभित्र एउटा मात्रै कोर्ट छ । दुई वटा कोर्ट बनाउनुपर्ने आवश्यकता छ । दुईवटा कोर्ट निर्माण गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पर्याप्त हुने संघका अध्यक्ष श्रेष्ठको भनाई थियो ।

‘संघकै सदस्य साथीभाइसँग सहयोग मागेर डेढकरोड खर्च गरेर संरचना तयार पा¥यौं’ उनले भने–‘अब आधुनिक समानहरु राखेर कोर्ट तयार पार्न दुई करोड खर्च हुन्छ ।’ उनका अनुसार अहिले केवल खेल्ने शैलीको मात्रै कोर्ट तयार पारिएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासको संरचना निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राष्ट्रिय खेलकुद परिषदसँग १ करोड ५० लाख बजेट मागको प्रस्ताव गरेको छ ।

‘प्रस्ताव गरेको बजेट आए दुईवटा कोर्ट तयार हुन्छ भन्ने विश्वास खेलकुदले लिएको छ ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘दुई वटा कोर्ट तयार पार्नुपर्ने छ । भइरहेको एउट कोर्टलाई व्यवस्थित पार्केटिङ गर्नुपर्छ ।’ निर्माण गरिएको संरचनाभित्र शौचालय एवं चेन्जिङ रुम छ । त्यसलाई फिनिसिङ गर्नुपर्ने संघले जनाएको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठका अनुसार तीन वटा कोर्ट तयार भएपनि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने छ । पुर्वाधारकै अभावमा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गतको स्क्वास खेल भने काठमाडौंंमा आयोजना गरिएको थियो । स्क्वासको महिला तथा पुरुषका खेलहरु पोखरामै आयोजना गर्ने तयारीसहित डेढ करोडको बजेट प्रस्ताव गरिएको हो । बजेट आएको अवस्थामा काम शुरु गरिने तयारीमा संघ र खेलकुद विकास समिति छ ।

पोखरामा शुरु भएको दुई दशक वितेपनि सर्वसाधारणको लागि यो खेल भने नौलो नै हो । स्क्वास ‘क्यालोरी बर्न’ हुने खेलमा पर्छ । इण्डोर गेम हो । सानो ठाँउ भएपनि कोर्ट बनाउन पुग्छ । एक्लै खेल्न पनि मिल्छ । विदेशमा होटलभित्रै स्क्वासको कोर्ट हुन्छन् । स्क्वास खेलको विकास र विस्तार एवं भौतिक पुर्वधार बनाउन राष्ट्रिय खेलकुद परिषदले भने सहयोग गरेको अवस्था छैन् ।

पोखरामा २०६० सालदेखि नै केसी कप स्क्वास प्रतियोगिता आयोजना हुदैं आएको थियो । तर प्रतियोगिताले केही समय निरन्तरता पाउन सकेन् । रातो घरबाटै शुरु भएको स्क्वास प्रतियोगिता अब पोखरा रंगशाला परिसर भित्रको स्क्वास ¥याकेट एशोशियसनकै कोर्टमा सञ्चालन हुने छ ।

कमेन्टहरु
Loading...