सहारा एकेडेमीको स्वामित्व राज्यले लिन्छ ः खेलकुद मन्त्री श्रीपाइली

सागको तयारी फाष्ट ट्रयाकमा

पोखरा, २६ भदौ /खेलकुद मन्त्री दलजित श्रीपाइलीले पोखराको सहारा एकेडेमीको राज्यले स्वामित्व ग्रहण गर्ने बताएका छन् । सहारा क्लव पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीको शनिबार अवलोकनपछि बोल्दै मन्त्री श्रीपाइलीले यस्तो बताएका हुन् ।

आफू सहारा एकेडेमीको अवलोकनको लागि त्यसै नआएको बताउँदै उनले भने,–‘म एकेडेमी अवलोकनका लागि त्यत्तिकै आएको होइन, म आउनुको पनि अर्थ छ, म अहिले आश्वासन त दिन्नँ तर एकेडेमीको अब राज्यले स्वामित्व लिन्छ ।’ उनले एकेडेमीको लागि के गर्ने भन्ने बारेमा प्रष्ट नभनेपनि केहि न केहि भने गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने,–‘म भन्दा पहिलेका मन्त्रीले पनि आश्वासन दिएका रहेछन्, त्यसैले तपाईंहरुलाई विश्वास नलाग्न सक्छ, कार्यान्वयन नगरेसम्म विश्वास नलाग्ने रैछ, म यस्तो धेरै ठाउँमा परेको छु, तर प्रोपोजल ल्याउनुस्, म केहि न केही गरेरै छाड्छु ।

सहारा एकेडेमीका विद्यार्थी सगा खेलकुद मन्त्री दलजित श्रीपाइली । तस्विर ः सुदर्शन रञ्जित
सहारा एकेडेमीका विद्यार्थी सगा खेलकुद मन्त्री दलजित श्रीपाइली । तस्विर ः सुदर्शन रञ्जित

यसअघी सहारा एकेडेमी पुग्दा मन्त्री श्रीपाइलीलाई सहारा क्लवका अध्यक्ष बिरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीसहितका पदाधिकारी तथा सहारा एकेडेमीका वालकहरुले माला र खादा लगाएर स्वागत गरेका थिए । सो अवसरमा क्लवका अध्यक्ष आचार्यले क्लवको गतिविधि र एकेडेमीको अवस्था बारे मन्त्रीलाई जानकारी गराएका थिए । उनले वार्षिक क्यालेन्डर अनुसार सहयोग गर्ने वातावरण मिलाइदिन आग्रह गरे । उनले भने,–‘राज्यले सहयोग वार्षिक रुपमै गरिदिनु प¥यो, रातो किताबमै उल्लेख गरेर सहयोग आए योजना बनाएर काम गर्न सजिलो हुन्थ्यो ।’

क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले आहा रारा गोल्डकपको आम्दानी र शुभचिन्तकहरुको सहयोगमा सञ्चालित सहारा एकेडेमीलाई बृहद रुप दिन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले यसअघीका मन्त्रीहरुले सहयोग गर्ने पटक÷पटक आश्वासन दिएपनि सहयोग नगरेको गुनासो गरे । उनले राज्यले सहयोग गरे २८ जना वालकको क्षमता बढाएर एकसय पु¥याउन सकिने र त्यसबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने बताए ।

क्रिकेट संघका निवर्तमान उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष दीपक कोइराला र जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष सुमन देवकोटाले सहाराले उदाहरणीय कार्य गर्दै आएको बताउँदै यसको प्रोत्साहनका लागि राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनीहरुले सहारा एकेडेमीलाई फुटवलको मात्र नभई स्पोर्ट एकेडेमीको रुपमा बिस्तार गरेर वालकहरुले चाहेको खेलमा तालिम दिएर दक्ष खेलाडी उत्पादन गर्न सकिने बताए ।

सागको तयारी फाष्ट ट्रयाकमा

यसैबीच, मन्त्री श्रीपाइलीले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को तयारी फास्ट ट्रयाकबाट गर्ने बताएका छन् । पोखरामा अनलाईनखबरसँग कुरा गर्दै उनले विविध कारणले हाल सागको तयारी हुन नसकेकाले अब फाष्ट ट्रयाकबाट गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै काम फाष्ट ट्रयाकबाट सञ्चालन गर्ने बताए ।

मन्त्री श्रीपाइलीले पोखरामा सागका केही खेलहरु ल्याउने बताउँदै सहारा एकेडेमीमा पनि खेल खेलाउन सकिने बताए । यद्यपी यसबारेमा निर्णय नभएको र यसबारेमा छलफल गर्ने बताए ।

कमेन्टहरु
Loading...