साग समयमै हुन्छ, साग राष्ट्रलाई निमन्त्रणा पठाइसकेका छौं– मन्त्री विश्वकर्मा

पोखरा, ७ साउन / युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) निर्धात समयमै हुने भएका छन् । पोखरा हुने सागका खेलका मैदान तथा निर्माणाधीन पूर्वाधारको स्थलगत अवलोकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले साग तोकिएकै समयमा हुने भएकाले कुनै शंका नगर्न आग्रह गरे ।

साग हुने सुनिश्चित भएकैले सागमा आबद्ध राष्ट्रहरुलाई निम्तो पठाइसकेको बताउँदै उनले भने,‘साग हुँदैन कि भन्ने आंशका नगरौं, हुँदैन कि भन्ने आशंका गरिरहनुपर्ने कारण नै छैन ।’ उनले साग हुँदैन कि भनेर आशंका गरिरहनु भन्दा सागलाई कसरी सभ्य र भव्य रुपमा सम्पन्न गर्ने र धेरै भन्दा धेरै पदक दिलाउनेतर्फ लाग्न खेलप्रेमी तथा शुभचिन्तहरुलाई आग्रह गरे ।

मन्त्री विश्वकर्माले साग हुने आधारहरु तयार हुन थालेको र बजेटपनि कमी हुन नदिने प्रतिबद्धता जनाए । साग गर्नेमा सरकारको प्रतिबद्धता छ,‘उनले भने,‘प्रधानमन्त्रीदेखि हामी मन्त्री, राखेप, ओलम्पिक कमिटी लगायत सबैको प्रतिबद्धता छ, बजेट वा अन्य कुनैपनि हिसाबले कमी हुन दिदैनांै ।’

उनले साग गर्न १४/१५ वटा उपसमिति बनाएर तयारीलाई तिव्र बनाउने बताए । तेह्रौं साग नेपाल र नेपालीका लागि गर्व र अवसरको रुपमा रहेको बताउँदै उनले यसलाई सभ्य र भव्य रुपले सम्पन्न गर्ने दायित्व सम्पूर्ण नेपालीको भएको बताए ।

पोखरामा हुने भनेर घोषणा भएका खेलहरु पोखरा बाहिर नलगिने स्पष्ट पार्दै मन्त्री विश्वकर्माले त्यसका लागि पूर्वाधार निर्माण भइरहेको बताए । रोकिएका पूर्वाधारण निर्माणका लागि बजेट आउँछ,‘उनले भने,‘बजेटका कारणले पूर्वाधार निर्माण रोकिदैन, भोलिदेखि नै काम गर्न थाल्नुस् ।’ उनले क्वास र आर्चरीका लागि आर्थिक वर्ष २०७६/७७ को बजेटमा छुटेपनि यसका लागिपनि बजेटको ब्यबस्था गर्ने घोषणा गरे ।

कमेन्टहरु
Loading...