प्याराग्लाइडिङ नियमन र अनुमतीको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई

पोखरा, १३ चैत /दुर्घटनाहरु बढ्दै गएपछि शाहासिक खेल प्याराग्लाइडिङको नियमनको जिम्मा नेपाल हवाई खेलकुद संस्था (ना)लाई दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल हवाई खेलकुद संस्थालाई प्याराग्लाइडिङ नियमन गर्ने जिम्मा दिएको हो ।

क्यानले नेपाल हवाई खेलकुद संस्थालाई व्यवस्थापन, पाइलटको लाइसेन्स, नियमन तथा प्रबर्धन सम्बन्धि कार्यका लागि प्राधिकारिक संस्था तोकेको प्रमाणपत्र बुधबार हस्तान्तरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई नियमनको जिम्मा तोकेको प्रमाण पत्र हस्तान्तरण गरे ।

नेपाल हवाई संस्थाले प्यराग्लाइडिङ, ह्याण्डग्लाइडिङ लाइसेन्स जारी गर्ने, नियम विपरित संचालन हुने कम्पनी र पाइलटलाई कार्वाही गर्ने, एकल प्याराग्लाइडिङ गर्ने प्यरापाइलोटलाई उडान अनुमतीको सिफारिस दिने, सुरक्षित उडानका लागि व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी दिएको क्यानका प्रबन्धक देवेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । निमय अनुसार नचलेमा कम्पनी र पाइलटको दर्ता खारेजी समेत गर्ने अधिकार नेपाल हवाई खेलकुद संस्थालाई छ ।

प्याराग्लाइडिङ कम्पनीहरुले संस्थाको नविकरण नागरिक उड्डयन कार्यालय पोखराले गर्दै आएकोमा अब नेपाल हवाई खेलकुद संस्थाले गर्ने छ । पछिल्लो समयमा पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढे संगै नियमन, अनुगमन प्रभावकारी नभएको गुनासो आइपछि संस्थालाई क्यानले जिम्मा दिएको हो । संस्थाले गरेको कामको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ ।

कमेन्टहरु
Loading...