आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ प्रतिस्पर्धा बैशाख ६ देखि पोखरामा

पोखरा, २६ चैत/आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक प्याराग्लाइडिङ समाबेश भए पछि पोखरामा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख ६ देखि ९ गतेसम्म पोखराको सराङकोटदेखि उडान भर्दै खपौदीमा सहभागि प्यारा पाईलटले ल्याण्ड गर्ने छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले १० पुरुष र ४ महिला गरी १४ खेलाडीलाई पहिलो पटक समावेश गराउँदै छ । दुई खेलाडी भने इण्डोनेशियामा आयोजित एशियाली खेलकुद प्रतियोगितामा सहभागि भई फर्किएका छन् ।

विजय गौतम र विशाल थापा नेपाली सेनाबाट पोखराको आकाशमा प्रतिस्पर्धा गर्ने छन् । चार दिने प्रतियोगिताको लागि प्रदेश नं १ बाट ९ पुरुष र २ महिला गरी ११ जना, २ नम्बर प्रदेशबाट सहभागिता छैन्, प्रदेश नं ३ बाट १० पुरुष र १महिला गरी ११ जना पाईलटले सहभागिता जनाएका छन् ।

गण्डकी प्रदेशबाट १० पुरुष र ३ महिला गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रदेश नं ५ बाट पनि सहभागिता छैन् । प्रदेश नं ६ बाट २ जना पुरुष र प्रदेश नं ७ बाट ५ जना पुरुषले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।

दुई विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरी बलको सहभागिता भने छैन् । ‘एशियन कपमा पदक जितेपछि आर्मीले प्याराग्लाइडिङ प्रति निकै चासो दिएको छ ।’ उनको भनाई थियो । आर्मीको प्याराजम्प गर्ने र प्याराग्लाइडिङ मिल्दोजुल्दो भएकोले पनि आर्मीको चासो बढेको अनुमान गरिएको छ ।

यतिबेला खेलाडीहरु सोलो उडान भर्दै आएका छन् । जुन उनीहरुको लागि नियमित प्रशिक्षण समेत हो । कर्मसियल उडान समेत हुदैं आएको छ । ६ स्वर्ण पदकको लागि ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष एक्युरेसी, क्रसकन्ट्री, टिम एक्युरेसी र टिम क्रसकन्ट्रीमा प्रतिस्पर्धा हुने छ भने महिलामा पनि एक्युरेसी र क्रसकन्ट्रीमा प्रतिस्पर्धा गराईने महासचिव रावतले बताए । ‘हामीले प्यारानोभा प्याराग्लाइडिङ कम्पनीको टेक अफ र ल्याण्डिङ जोन प्रयोग गर्ने छौं ।’ उनको भनाई थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीसँगै उत्कृष्ठ दशभित्र रहने महिला तथा पुरुष खेलाडीलाई इभेण्ट अनुसार साग गेम्सको तयारीको लागि राखिने उनले सुनाए । ‘उत्कृष्ठ दशभित्रका खेलाडीलाई आवश्यकता अनुसार एक्युरेसी र क्रसकन्ट्रीको प्रतिस्पर्धाको लागि पठाउने गरी प्रशिक्षणमा राखिने छ ।’ उनले भने–‘त्यसरी राखिएपछि एक्युरेसीमा जाने र क्रसकन्ट्रीको प्रतिस्पर्धामा जाने खेलाडी छुट्टाछुट्टै हुने छ । नजिता पनि राम्रो आउनसक्छ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नेपाल हवाई खेलकुद संस्थाले सहयोगी भूमिका खेल्ने छ भने नेपाली सेनाको ३ नम्बर बाहिनीले उद्दार कार्यमा सहयोग गर्ने छ ।

कमेन्टहरु
Loading...