उर्जा दक्षता बढाउन सचेतना

पोखरा, ३० मंसिर/ उर्जा खपतलाई किफायती कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोमबार पोखरामा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उर्जा दक्षता र उर्जा अडिटका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको गण्डकी प्रदेश शाखा, पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको उक्त कार्यक्रममा विज्ञसँग होटलकर्मी र उद्योगी व्यवसायीले उर्जा दक्षताका बारेमा छलफल गरेका थिए । नेपाल उर्जा दक्षता आयोजना तेश्रो चरण नाम दिइएको कार्यक्रमलाई नेपाल सरकार र जर्मन सरकारको सहयोग रहेको थियो ।

कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै नेपाल उद्योग वाणिज्य महासंघ उर्जा तथा वातावरण विभागका प्रमुख डा। उत्तम कुँवरले लोडसेडिङ अन्त्य पछि विद्युत खपत बढाउन सरकारले आव्हान गरे पनि जति विद्युत खपत गरिन्छ त्यसमा किफायति हुन सके उपभोक्तालाई नै फाइदा पुग्ने भनाई राखे ।

यसका लागि उद्योग, प्रतिष्ठान वा सामान्य घरले समेत इनर्जी अडिट अर्थात् विद्युत तथा सो सम्बन्धी उपकरणको प्रयोग र तिनले गर्ने विद्युत खपत बारे हिसावकिताव गर्दा उपयोगी हुने डा। कुँवरले सुनाए । इनर्जी इफिसियन्सी सेन्टर ९ईईसी० नामक युनिट महासंघको आफ्नै शाखा भएको भन्दै उनले आफूहरु कुनै फाइदा वा पैसाका लागि काम नगरी उद्योगी व्यवसायीको हितका लागि काम गर्ने युनिट रहेको स्पष्ट पारे । उर्जा अडिटले सम्बन्धित फर्मलाई मात्र नभई बचतबाट सामाजिक न्यायका लागि समेत फाइदा हुने तर्क उनको थियो ।

अर्को प्रस्तुती राख्दै सोही विभागका इन्जिनियर एवं उर्जा अडिटर मिलभ श्रेष्ठले जति चाहिने हो त्यति मात्र विद्युत वा उर्जा खपत गर्नु उर्जा दक्षता भएको बताए । योजना, कार्यान्वयन, परीक्षण र पुनः काम गरेर उर्जा अडिटको चक्रलाई अगाडि बढाउन सकिने उनको सुझाव थियो । उर्जा सम्बन्धी नीति, कार्ययोजना, उर्जा अडिट लगायत विभिन्न १० पक्षहरुबारे उनले सो अवसरमा चर्चा गरेका थिए ।

कार्यक्रमममा बोल्दै महासंघको गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले इनर्जी अडिटले वस्तु उत्पादनमा लागत मूल्य घट्न गई उपभोक्तालाई फाइदा पुग्ने भनाई राखे । यसले उर्जा चुहावटमा न्यूनता ल्याई सम्बन्धित उपभोक्तालाई फाइदा पुग्ने उनको तर्क थियो । वस्तु तथा सेवाको लागत मूल्य घटाउन अल्छी नगर्ने कुरा उर्जा अडिटसँग जोडिने बताउँदै उनले यो अन्तर्राष्ट्रिय चलन नै हो भने ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उर्जाको व्यवस्थापन अति महत्वपूर्ण र जरुरी विषय भएको भनाई राखे । उर्जा दक्षताका लागि आयोजित उक्त सचेतनामूलक कार्यक्रम उद्योगी व्यवसायीका लागि तथा होटलकर्मीका लागि उपयोगी कार्यक्रम भएको उनले बताए । व्यवहार परिवर्तन गरी उर्जामा दक्षता प्रदर्शन गर्न सकिने भन्दै उनले त्यसतर्फ ध्यान दिन सबैसँग आग्रह गरे । विद्युत महशुलमा नेपाल विद्युत प्राधिकरणले होटलहरुलाई उद्योग सरह सुुविधा नदिएको प्रति उनले असन्तुष्टी थियो ।

सो अवसरमा सुजल फुड्सका डीजीएम सुशीलकुमार भट्टराईले इनर्जी अडिट बारे आफ्नो कम्पनीको अनुभव बाँडेका थिए । कार्यक्रममा उद्योगीहरु गोकर्ण कार्की, वलभद्र नकर्मी, व्यवसायी मिनराज काफ्ले, होटलकर्मी रमेश पौडेल र अर्का सहभागी अग्नी सापकोटाले उर्जा दक्षतासँग सम्बन्धित रहेर आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रमका अवसरमा विभाग र महासंघको गण्डकी शाखा, पोखरा उद्योग वाणिज्य संघ तथा पश्चिमाञ्चल होटल संघ पोखरा विच सम्बन्धित कार्यालय मार्फत् उर्जा दक्षता सम्बन्धी सचेतना बढाउन कक्षहरु खडा गर्ने विषयमा सम्झौता भएको थियो । विभागका प्रमुख डा। कुँवर र उल्लेखित संस्थाका क्रमशः अध्यक्ष कोइराला, संघको वाणिज्य तर्फका उपाध्यक्ष पवन प्रजापति र होटल संघका अध्यक्ष तुलाचनले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...