आठौंमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने प्रदेश सरकरको निर्णय

पोखरा, १९ जेठ/आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य कास्य पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको प्रस्तावमा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।

नेपालगन्जमा गत चैत–बैशाख सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले र्आचरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं सस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारीसहित फर्किएको थियो ।

आर्चरीमा व्यक्तिगत र टिम गेममा गरी ५ स्वर्ण पदक गण्डकीले जितेको थियो । तर आर्चरीको पदकलाई भने राष्ट्रिय खेलकद प्रतियोगितामा समावेश नगर्दा गण्डकी प्रदेशले १३ स्वर्ण पदकमा चित्त बुझाएको थियो ।

गण्डकी प्रदेशले व्यक्तिगत तथा टिम गेममा गरी कुल २०३ पदक जितेको थियो । व्यक्तिगत र टिम गेममा गरी स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ४० जना छन् । त्यसैगरी रजत पदक जित्ने खेलाडीमा ५७ जना र कास्य पदक जित्ने खेलाडी भने १०६ जना छन् ।

उनीहरुलाई नगदसहित सम्मान गर्ने प्रस्तावलाई गण्डकी प्रदेश सरकार निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । गण्डकी प्रदेशबाट विभिन्न खेलमा ५ सय ६१ जना खेलाडी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि थिए ।

‘खेलाडीलाई हौसला थप्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अझ प्रभावकारी प्रदर्शन गराउने उद्देश्यसहित नगदबाट सम्मान गर्ने निर्णय गरिएको छ ।’ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले भने–‘प्रदेश सरकारको निर्णयले खेलकुदमा नयाँ आशाका किरण देखा परेको छ ।’ खेलाडी राष्ट्रका गहना हुन भन्ने धर्म र मर्मलाई बुझ्दै खेलाडीलाई थोरै रकमबाट भएपनि सम्मान गर्नुपर्ने दायित्वा र जिम्मेवारी प्रदेशको भएको उनको भनाई थियो ।

व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । रजत पदक जित्नेलाई ७ हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी टिम गेममा स्वर्ण पदक जित्नेलाई नगद ७ हजार, रजतलाई ५ हजार र कास्य पदक जित्ने खेलाडीलाई ३ हजार रुपैयाँबाट सम्मानित गरिने उनले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले खेलाडीलाई नगदसहित सम्मान गर्न ११ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले निर्णयले खेलाडी सम्मान गर्न ११ लाख ८५ हजार विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम गेम तर्फ पुरुष ह्याण्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो । ह्याण्डबलमा गण्डकी प्रदेशले सातौंमा भने कास्य पदकमा चित्त बुझाएको थियो । यसैगरी फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो ।

यसअघिका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई रोजगारी उपलब्ध गराउने सूचना सार्वजनिक गरेको थियो । तर पदक विजेता खेलाडी भने रोजगारविहीन अवस्थामा छन् । आवश्यक कागजपत्र पेश गरेपनि रोजगारी प्राप्त गरेका छैनन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित नगर परिक्रमा गराउने निर्णय पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको छ । नवौं गण्डकी प्रदेशमै आयोजना गर्ने जिम्मेवारी लिएको गण्डकी खेलुकद परिषदले आवश्यक पुर्वाधारको लागि ५१ करोड ३० लाख रुपैयाँको बजेट अनुमानित गरेको छ ।

नवौैको पुर्वाधारसँगै पोखरामा आगामी मंसिर तेस्रो साता आयोजना हुने साग खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल, र्आचरी लगायतका पुर्वाधार निर्माणको चरणमा छन् । आर्चरीलाई ९० लाख रुपैयाँ माग गरिएको छ । फुटबल मैदानसहित ट्रयाक निर्माण गर्न १ अर्ब २८करोडको लागतमा ठेक्का दिईएको छ ।

कमेन्टहरु
Loading...