बैङको किस्ता छ महिना थप्न यातायात व्यवसायीको माग, नभए साँचो बुझाउने

पोखरा, १७ असार / पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैँङ्क तथा वित्तिय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ ।

प्रालिले पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैँङ्कको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।

अन्य पेशा व्यवसाय खुकुलो बनाइएपनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैँङ्क तथा वित्तिय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जरी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखी कम्पनीमा आवद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र ताला चावी क्रमिक रुपमा सम्वन्धित बैँङ्क तथा वित्तिय संस्था बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

उनले सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल एक लाख लगानी गर्नुपर्ने बाध्यता रहेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले बन्दाबन्दीले विभिन्न पेशा व्यवसयी मध्य यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रष्त हुन पुगेको दावी गर्दै करीब तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन ठप्प रहेकाले १२ लाखले प्रत्यक्ष तथ ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनु परेको बताए ।

पृथ्वीराजमार्ग कम्पनी प्रालि अन्तर्गतका एक हजार ४ सय सवारी साधनमा पाँच अर्व ६० करोड लगानी रहेकामा बैँङ्क तथा वित्तिय संस्थाको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानी रहेको नेपाल यातायात महासंघका केन्दीय सदस्य केशब अधिकारीले जानकारी दिए ।

प्रालिले पोखरालाई केन्द्र मानि देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्री तथा दिवा सेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...