महिला उद्यमी मेला–२०७० सम्पन्न, महिला उद्यमी लालचनलाई सम्मान

पोखरा, २३ असोज/अग्रज व्यूटिसियन, गीतकार तथा शिक्षिका बसन्ती लालचन सम्मानित भएकी छन् । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास उपसमितिले महिला उद्यमी मेला २०७० का समापनको अवसर पारेर सोमबार उहाँलाई सम्मान गरेको मेला संयोजक हिरा भट्टराईले जानकारी दिइन् ।महिलाहरुलाई प्रोत्साहन दिनका लागि प्रत्येक मेलामा उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिदै आएको भट्टराईको भनाइ छ । तीन दशक अगाडि हिना हर्वल ब्यूटिपार्लर एण्ड टे«निङ इन्टिच्यूट स्थापना गर्नुभएकी बसन्तीले सौन्दर्यकला तालीममार्फत महिला उद्यमशिलताको विकासमा ठूलो योगदान पु¥याउनु भएको छ ।

वास्तविक नाम बसन्ती भए पनि उहाँको योगदानको कारण अहिले पनि उहाँलाई धेरैले ‘हिना दिदी’ भनेर चिन्छन् । सोमबार प्रमुख अतिथीद्धय संविधानसभाको आसन्न चुनावका प्रत्यासी सारदा पौडेल र सीता गिरीबाट उत्कृष्ट महिला उद्यमी सम्मान २०७० ग्रहण गरेपछि उहाँले उद्यमशिलता भनेको सिक्ने मात्र नभएर सिकाउने काम पनि हो भन्नुभयो । बगरमा रहेको संस्कृत माविबाट अध्यापन सुरु गर्नुभएकी बसन्तीले तत्कालिन मल्टिप्रपोज स्कूलमा पनि पढाउनु भएको थियो । ‘क्या राम्रो स्याउबारी मार्फा गाउँमा…. लगायतका कर्णप्रिय गीतकी लेखिका समेत रहनु भएकी उहाँले गीतमार्फत ठाउँ चिनाउन पनि ठूलो योगदान दिनुभएको छ ।

यता महिला उद्यमी मेला २०७० सोमबार सकिएको छ । असोज १७ गतेदेखि चलेको मेलाको समापनको अवसरमा बोल्दै नेपाली काँग्रेसकोतर्फबाट संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार बन्नुभएकी सारदा पौडेलले महिला उद्यमशिलताको लागि महिला नै नेतृत्वमा पुग्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेकी सीता गिरी ओलीले महिला अधिकारको लागि महिलाहरु नै अगाडि बढ्नुपर्ने बताउनुभयो । दुबै उम्मेदवारहरुले जुन पार्टीबाट उठेका भए पनि महिलालाई नै भोट दिन महिला दिदिबहिनीलाई आग्रह गर्नुभएको थियो ।

समापन कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले महिला उद्यमशिलताको लागि संघले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरुको सृजनशीलताको विकास भएमात्र समाजमा परिवर्तन हुने धारणा राखे । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले मेला महिला उद्यमशिलता प्रदर्शनको लागि फलदायी भएको धारणा राखे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णमोहन श्रेष्ठ, संघका महासचिव नारायण कोइराला, महिला उद्यमी मेला २०७० का संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव हीरा भट्टराई, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका सल्लाहकार प्रजापति पराजुली, उत्कृष्ट स्टलद्वारा सम्मानित महिला सीप विकास केन्द्रकी रामकली खड्का, उत्कृष्ट वडास्तरीय महिला समन्वय समिति, पोखरा–१८ का अध्यक्ष ईन्द्रमाया बानिया, मञ्जु कार्की बानिया लगायतले बोलेका थिए ।

मेला अन्तर्गत आयोजित महिला उद्यमशीलता झल्काउने लोकगीत प्रतियोगितामा रेडियो जननी पहिलो, मनकामना दिदीबहिनी समूह पोखरा–७ दोस्रो, अभियान महिला समाज, पोखरा–५ तेस्रो र हिमाल आमा समूहले सान्त्वना स्थान प्राप्त गरे । उनीहरुले क्रमशः १०, ७, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे । पुरस्कारका लागि जलशा प्रोपटी ग्राण्ड, माउन्ट कैलाश रिसोर्ट, महिला शिप विकास संस्था र रेडियो जननी ९०.६ ले प्रायोजन गरेको भराईले बताइन् । आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशिलता भन्ने नाराका साथ आयोजित मेलामा महिला उद्यमीहरुद्धारा उत्पादित बस्तु तथा सेवाहरु प्रदर्शन र बिक्रीमा राखिएका थिए ।

कमेन्टहरु
Loading...