महिला उद्यमी मेलाको आयोजनाप्रति जनप्रतिनिधी र क्रियाशील महिलाहरु उत्साहित

पोखरा, २४ जेठ /पोखरामा रहेका महिला जनप्रतिनिधी तथा महिला हकहितमा क्रियाशिल संघ/संस्थाहरुले जेठको अन्तिम साता आयोजना हुने महिला उद्यमी मेला–२०७५ लाई सफल बनाउन आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जनप्रतिनिधी तथा महिला हकहितमा क्रियाशिल विभिन्न संघरसंस्थाका प्रतिनिधीहरुबीच बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिवद्धता आएको हो । मेला यही जेठ ३० गतेबाट असार २ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ ।

कार्यक्रममा बोल्दै नारी सेवा केन्द्रकी अध्यक्ष उषा बरुवालले उद्यमशीलता सुरु गर्दा त्यसको स्थायित्व र बजारको बारेमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । वडा नम्बर २४ की महिला जनप्रतिनिधी सन्तु सुवेदीले महिला उद्यमशीलताले जीवनस्तर सुधार हुने बताउँदै वडा नम्बर २४ मा सुरु हुन लागेको फूल खेतीलाई सघाउन आग्रह गर्नुभयो । मानव मिलन समाज केन्द्रकी सावित्री शर्मा,नवजीवन महिला विकास संस्थाकी अध्यक्ष कमला थापा, अम्बिका भण्डारीलगायतले महिलाहरुमा केही गरौँ भन्ने भावना जागृत गराउन मेला सहायक हुने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघकी वाणिज्यतर्फको उपाध्यक्ष विन्दु कोइराला सुवेदीको धन्यवाद,मेला संघ संस्था परिचालन उपसमिति संयोजक शोभा गौतमको स्वागत, महिला उद्यमी विकास समितिका सदस्य सांग्रिला मरासिनीको संचालन एवं महिला जनप्रतिनिधी परिचालन उपसमितिका संयोजक किरण गौतमले उदेश्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिका संयोजक सीता बरालले गर्नुभएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमितिका सदस्य गीता तिवारी गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रबारे प्रकाश पार्दै मेला संयोजक समेत रहनु भएका बरालले महिलाहरुको आर्थिक सम्वृद्धिको लागि मेला आयोजना गरिएको बताउनुभयो । महिला उद्यमी विकास उपसमितिले विभिन्न तालीम तथा सेमिनारहरुको आयोजना गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको बताउँदै मेलामा पनि विभिन्न सीपसम्बन्धी तालीम र सेमिनारहरु आयोजना हुने जानकारी दिनुभयो ।

जनप्रतिनिधीहरु तथा महिला हक हितको क्षेत्रमा क्रियाशिल महिलाहरुको सहयोगले मात्र मेला सफल हुने बताउँदै उहाँले मेलामा सक्रिय सहभागिताको लागि सबैसँग आग्रह पनि गर्नुभयो । मेलामा प्रदेश नम्बर ४ मा रहेका हरेक जिल्लाका महिला उद्यमीहरुबाट २र२ वटा तथा देशैभरका महिलाहरुको ५० वटाभन्दा बढी स्टल रहने उहाँले जनाउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमिति मेलाको सहयोगी रहेका छन् । पोखरा लेखनाथ महानगरपालिकाले मेलाको विशेष सहयोगी तथा प्रवद्र्धकको रुपमा रहेको छ ।

कमेन्टहरु
Loading...