लोमान्थाङ प्रवद्र्धन पर्यटन व्यवसायी लोमान्थाङ तर्फ

पोखरा, ९ जेठ /हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको प्रवद्र्धनमा यहाँका पर्यटन व्यवसायी जुट्ने भएका छन् । माथिल्लो क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटक भित्रयाउने पहलमा व्यवसायी लागेका हुन् । पोखरा पर्यटन परिषद (पिटिसी) को आयोजनामा पर्यटन व्यवसायी सहितको टोलीले आइतबारदेखि लोमान्थाङ हुँदै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्मको प्रवद्र्धन सुरु गरेको पिटिसी अध्यक्ष सोमबहादुर थापाले बताए ।

लोमान्थाङ
लोमान्थाङ

‘हिमाली क्षेत्रको प्रवद्र्धनमा यो कार्यक्रमले सघाउनेछ,’ उनले भने, ‘त्यस क्षेत्रमा पर्यटक भित्रयाउन पनि यो अभियानले थप बल पु¥याउनेछ ।’ उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनी विभिन्न देशका पर्यटक त्यहाँ पुग्ने गर्छन् । उपल्लो मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ ।

अर्धनिषेधित क्षेत्र (सेमी रेस्ट्रिक्टेट एरिया) मा पर्ने यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटक प्रवेशका लागि खुल्ला गरिएको थियो । यो अभियानले आगामि दिनमा त्यस क्षेत्रमा थप पर्यटक पठाउन सघाउने उनले बताए । प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले सघाउँदैछ । टिममा पोखराका पर्यटन व्यवसायी सहित उद्यमी सहभागि छन् । पाँचदिनसम्म चल्ने भ्रमणलाई व्यवसायीले ‘मिसन कोराला–२०१६’ नाम दिएका छन् । हिमाली क्षेत्रको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जलवायु परिवर्तनले उक्त क्षेत्रमा पारेको असरबारे पनि जानकारी लिइने अध्यक्ष थापाले बताए ।

पोखरा सहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवं परिषदका उपाध्यक्ष चिरञ्जीवि पोखरेलले बताए । पोखरा आउने पर्यटकहरु यहाँबाट उच्च हिमाली श्रृंखलाको अवलोकन गर्ने उद्देश्यका साथ ऐतिहासिक स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उनको भनाइ छ । नेपाल र तिब्बत जोड्ने कोरला नाकालाई व्यवसायीक प्रयोजनमा ल्याउने समेत सरकारी तयारी छ । त्यसका लागि अध्ययन समेत भइरहेको छ । सरकारले २०७३ साललाई घुमफिर वर्षका रुपमा समेत प्रवद्र्धन गरेको छ । अहिलेको अभियानले घुमफिर वर्षको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटकलाइ उक्त क्षेत्रमा पठाउन पनि सघाउने उनले बताए ।

कमेन्टहरु
Loading...