तीन खम्बे आर्थिक नीतिलाई समात्न सभामुख अधिकारीको जोड

पोखरा, १६ चैत/चार नम्बर प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले दिगो विकासका लागि तीन खम्बे अर्थनीतिलाई समात्न सहकारीकर्मीहरुलाई सुझाव दिनुभएको छ । सहकारीका अध्यक्षहरुको संगठन केन्द्रीय सहकारी अध्यक्ष समाजको दुई दिने सहकारी लगानी सम्मेलनको समापनका अवसरमा उहाँले यस्तो सुझाव दिनुभएको हो ।

नेपालमा २०१३ सालदेखि सहकारी शुरु भएको ईतिहासको चर्चा गर्दै सभामुख अधिकारीले अहिलेसम्म सहकारीले निक्षेप बचत संकलन गर्ने र लगानी गर्नेमात्रै कार्यनीति अख्तियारी गरेको बताउनुभयो । राजनीतिक परिदृष्य फेरिएको अवस्थामा सहकारीको भुमिकामा पनि परिवर्तन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपालमा लामो समयदेखि सहकारि संस्थाहरुले काम गर्दै आएका छन्, तर नेपाली जनताको जीवन स्तर किन सुध्रन सकेन ?’ उहा“ले प्रश्न गर्नुभयो । यस्ता प्रश्नहरुको उत्तर खोज्नुपर्ने बेला आएको अधिकारीको जिकीर थियो ।

कार्यक्रममा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीले अब बचत तथा ऋणमा मात्रै ध्यान नदिई कृषि सहकारीतामा पनि जोड दिनुपर्नेमा जोड दिनुभयो । ‘हामीले अब पहिले जस्तो निर्वाहमुखी कृषि प्रणाली पुरै त्याग्नुपर्छ ।’ मन्त्री थापाले भन्नुभयो, ‘अब हजारौं हेक्टर भुमिमा व्यवस्थित कृषि कर्म गर्नुपर्छ ।’

नव नियुक्त पर्यटन, बन तथा भौतिक पुर्वाधार मन्त्री विकास लम्सालले सहकारीमार्फत पर्यटनको विकास गर्ने अवधारणा ल्याउन सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो । ‘सहकारीले यस प्रदेशको पर्यटन विकासमा के कस्तो योगदान गर्न सक्छ, स्पष्ट खाका ल्याउनुहोस, योजना बनाउन र कार्यान्वयन गर्न म तयार छु ।’

कमेन्टहरु
Loading...