टान पश्चिमाञ्चलद्वारा राईको परिवारलाई १० लाख रुपैयाँ प्रदान

पोखरा, १४ वैशाख / ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण सर्किटमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शक सहयोगी अशोक राईको परिवारलाई विमा रकम स्वरुप आज १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

गत वर्ष पुस २८ गते चार जना विदेशी र चार जना सहयोगी सहित अन्नपूर्ण सर्किटको पदयात्रामा निस्केको टोलीमा रहेका पथप्रदर्शक सहयोगी अशोक राई माघ ८ गते मनाङको याक खर्कमा विरामी भए पछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकोमा माघ ९ गते निधन भएको थियो ।

पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथ प्रदर्शक एवम् सहयोगीका लागि विगत सात वर्ष यता टान पश्चिमाञ्चल क्षेत्रीय संघले प्रत्येक वर्ष ७५ जना पथ प्रदर्शक तथा सहयोगीका लागि १० लाख रुपैयाँ बराबरको विमाका साथै हेलिकोप्टर तथा सवारी साधनबाट उद्धार गर्नका लागि विमाको व्यवस्था गरे अनुरुप राईको परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो ।

विमा रकमको चेक हस्तान्तरण गर्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले पदयात्रा पर्यटनको संवेदनशीलता समेतलाई दृष्टिगत गरी त्यसमा संलग्न हुने प्रथ प्रदर्शक एवम् सहयोगीका लागि टानले तत्कालन आवश्यक हेलिकोप्टर एवम सवारी साधनबाट उद्धारको व्यवस्था गर्नुका साथै १० लाख रुपैयाँको विमा व्यवस्था गरेको जानकारी दिनुभयो ।

टिम्स (पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथ प्रदर्शक एवम् सहयोगीले विमाको दावी गर्न सक्ने बताउँदै उहाँले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवम् सहयोगीलाई उहाँले आग्रह गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदयात्रामा जाने पथ प्रदर्शक एवम् सहयोगीका लागि टान पश्चिमाञ्चल क्षेत्रीय संघले गरेको विमा व्यवस्था अन्य पर्यटन सम्बद्ध संघ संस्थाका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापाले सात वर्ष अघिदेखि संघले विमाको व्यवस्था गरेको बताउँदै पदयात्रा पर्यटनको विकासका साथै पथप्रदर्शक एवम् सहयोगीले भोग्ने गरेका समस्या प्रति राज्य पनि गम्भीर बन्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी, पोखरा शाखाका कार्यालय प्रमुख कविराज पौडेल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका सचिव सुशिलराज पौडेल, युनिट्राभका केन्द्रीय उप महासचिव तुलसीप्रसाद सुवेदी लगायतले टान पश्चिमाञ्चल क्षेत्रीय संघले पथप्रदर्शक एवम् सहयोगीका लागि गरेको विमाको व्यवस्था प्रशंसायोग्य भएको धारणा राख्नुभयो ।

कमेन्टहरु
Loading...