सुविधाको वार्षिकोत्सवमा मृगौला पीडित परिवारलाई सहयोग

पोखरा, ४ माघ /सुविधा बहुउद्देश्यीय सहकारी संंस्था पोखराले परिवार नै मृगौला पीडित बनेका कुर्गा–२ पर्वतका तिलोचन शर्मालाई आर्थिक सहयोग गरेको छ । सहकारीले १६औं वार्षिकोत्सवको अवसरमा सोमबार शर्मालाई २५ हजार रुपैयाँ नगद सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष रुद्रनाथ बरालले शर्मालाई नगद हस्तान्तरण गरे । शर्माको श्रीमती प्रेमकला पौडेल, छोराहरु श्यामलाल शर्मा, दीपक शर्मा मृगौला रोगबाट पीडित छन् । वार्षिकोत्सवकै अवसरमा सहकारीले अटिजम केयर नेपाललाई ७ हजार रुपैयाँ र जाल्पादेवी बहुउद्देश्यीय समितिलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । राम आधारभूत विद्यालयलाई वाटरपम्प र बाल्टी सहयोग गरिएको सहकारीका सचिव राजु पौडेलले जानकारी दिए ।

सहकारीले सोमबार बिहान सिर्जनाचोक वरपर सरसफाईसमेत गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सहयोेग हस्तान्तरण तथा सरसफाई गरेको अध्यक्ष रुद्रनाथ बरालले बताए । ‘हामीले सामाजिक उत्तरदायित्वलाई बहन गरिरहेका छौं,’ उनले भने, ‘रचनात्मक काम गरेर वार्षिकोत्सव मनाउने क्रममा मृगौला पीडित परिवारलाई सहयोग गरेका हौं ।’

कार्यक्रममा सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठ, सहकारीका निबर्तमान अध्यक्ष विश्वकुमार बिजुक्छे लगायतले बोलेका थिए । सहकारीमा ५ सय ४४ जना शेयर सदस्य छन् । २ करोड ७५ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको ऋण लगानी १० करोड २५ लाख रुपैयाँ रहेको प्रवन्ध सञ्चालक सुशील बिजुक्छेले जानकारी दिए । सहकारीले १० करोड १० लाख रुपैयाँ बचत संकलन गरेको छ ।

कमेन्टहरु
Loading...