स्पर्स लघुवित्त वित्तले पोखराबाट कारोबार सुरु

पोखरा, २७ साउन /नेपाल राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्ने इजाजतपत्र प्राप्त ५२ औं संस्थाको रुपमा स्पर्स लघुवित्त वित्तीय संस्था शुक्रबार देखि औपचारिक रुपमा कारोबार सुर गरेको छ । पोखरा लेखनाथ महानगरपालिका विजयपुरमा रहेको कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।

नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भईरहेकोले अबका दिनहरुमा गुणात्मक बिकास गरी गुणस्तरीय सेवा दिनुपर्ने बताए । लघुवित्त भनेको विशुद्ध नाफा कमाउने क्षेत्र नभई सामाजिक सेवा पनि भएकोले नाफा कमाउने मात्र उद्धेश्य राखेर काम नगर्न संचालकहरुलाई सुझाव दिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काका अनुसार संस्थाले हाल ५.६० करोड चुक्तापूँजी राखी १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त संचालनमा ल्याउने बताए ।

वित्तीय संस्थाले चालु आर्थिक वर्षमा १५ वटा शाखा मार्फत करिब १२ हजार विपन्न सदस्यहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको खड्काले बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रबक्ता नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा प्रमुख पोमनाथ गौतम, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रो. डा.पुष्पराज कँडेल, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. शुशिल भक्त माथेमा, संचालक राजुराम अधिकारी प्रमुख कार्यकारी अधिकृत सजल खड्का लगायतले शुभकामना दिएका थिए ।

संस्थाले लघुवित्त कार्यक्रम सगै रेमिटयान्स, लघुविमा, जिवन विमाको एजेन्ट, प्रविधि मैत्री लघुवित्त बैंकिङ्ग सेवा, सामाजिक कार्यक्रमहरु, तालिम तथा विकाशका कार्यक्रमहरु आदि संचालन समेत गर्ने बताइएको छ । स्थानीय सिप तथा क्षमताको प्रयोग गर्ने उद्देश्यले शाखा रहेका स्थानीय स्थानहरुको सदस्य महिला, स्थानीय महिला पुरुष तथा जोस जागर भएको युवाहरुलाई लघुवित्त कार्यक्रममा सहभागी गराएर अगामी ५ वर्ष भित्र ७० वटा शाखामा करिब १४० महिला तथा युवाहरुलाई सहजकर्ताको रुपमा स्वरोजगार बनाउने खालको कार्यक्रम संचालन खड्काले बताए ।

कमेन्टहरु
Loading...