पोखरा महोत्सवमा शनिवार करिब ३० हजारले अवलोकन, २ करोडको कारोवार

पोखरा, ८ माघ /पोखरा महोत्सवमा शनिवार ३० हजार दर्शकले अवलोकन गरेका छन । पोखराको अमरसिंह चौरमा जारी सातौ पोखरा महोत्सवको नवौ दिन शनिबार मात्र ३० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका हुन ।

महोत्सवमा शनिवार २ करोडको कारोवार भएको छ । महोत्सवमा कास्की आसपासका छिमेकी जिल्ला तनहु, स्याङजा, पर्वत, बाग्लुङ लगायतका दर्शकहरुको समेत उपस्थिती रहेको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद, पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना, सौर्यबत्ती जडान र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले आयोजना गरेको महोत्सवलाई दर्शकको अपार साथ पाइरहेको महोत्सव आयोजक मुल समारोह समितीका संयोजक सुक बहादुर गुरुङले वताए ।

महोत्सवको नवौ दिन सम्म कुनै किसिमको अप्रिय घटना घटेको छैन । महोत्सवमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजी संस्थाका सुरक्षाकर्मी स्वयंसेवक र महोत्सव स्थलको विभिन्न ठाउमा राखिएको सिसी क्यामेराले प्रत्यक्ष निगरानी गरिएकोले कुनै अप्रिय घटना घटाउन नसक्ने विद्युतिय सुरक्षा संयोजक तथा रेडचिफ इन्जीनियरिङ प्रा.लि.का प्रवन्ध निर्देशक राबत तामाङ गोम्जाले वताए ।

यसपालिको महोत्सवमा अत्याधुनिक सि सि क्यामेरा जडान गरिएकाले कोही कसैले अप्रिय घटना घटाएमा निगरानीमा राखेर कारवाही गरिने महोत्सव सुरक्षा संयोजक लोक वहादुर थापाले वताए ।  महोत्सवमा राखिएको कास्कीको लेखनाथमा निर्माणाधिन अन्तराष्ट्रिय चिडियाखानाको भु–आकृति स्याण्ड मोडेलले दर्शकको मन जित्न सफल भएको छ । महोत्सवमा आउने सम्पूर्ण दर्शकहरुले चिडियाखानाको भु आकृतिको अवलोकन गर्नुका साथै फोटो खिच्नका लागी भीड लाग्ने गरेको छ ।
त्यसैगरी महोत्सव स्थल भित्र रहेको पशु तथा पन्क्षी अवलोकन केन्द्रमा पनि दर्शकहरुको भीड लाग्ने गरेको छ ।

शनिवार मात्रै अवलोकन केन्द्रमा १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको पर्यटन प्रवद्र्धन संयोजक भुवन ढकालले जानकारी दिए । महोत्सवको प्रत्येक टिकटमा पाउने नेपाल टेलिकमको सीमकार्ड लिने दर्शकको पनि उत्तिकै भीड लागेको छ ।
महोत्सवमा शनिवार लोकदोहोरी गायिका कोमल वलीले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइनभने एक खुट्टे नृत्यङगना निता ढुंगानाको नृत्यले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आइतबार लोकदोहोरी तर्फ ज्योती मगर, विष्णु खत्री, जीवन दाहाल, जय कुमार परियार, रमा राना, दुर्गा क्षेत्री, रामजी पौडेल, रमेश परियार, राम प्रसाद ढकाल, निश्चल थापाको प्रस्तुती रहने छ । त्यसैगरी लाइभ पप ब्याण्ड तर्फ सुगम पोख्रेल एण्ड द भीक्टीको प्रस्तुती रहने महोत्सव सचिवालय संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...