Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

सफल एक्सपोमा कारोवार र दर्शक बढ्दै 

0
पोखरा, १४ मंसिर / पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष  नारायण कोइरालाले जानकारी दिनुभयो ।
‘एक्सपोमा रहेका स्टलहरुले घरायसी सामानहरु विशेष छुटका साथ बिक्री गरेकाले पनि कारोवार अवलोकनकर्ता बढदै गएका हुन्’, उहाँले भन्नुभयो,‘मनोरञ्जनात्मक कार्यक्रमले पनि अवलोकनकर्तालाई आकर्षित गरेको हो ।’
संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक अर्जुन पोखरेलका अनुसार लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको हो ।
राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई परिष्कृत गर्दै यो पटक सफल एक्सपो नामाकरण गरिए पनि यो व्यापार मेला नै भएको उहाँले जानकारी दिनुभयो ।  एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन,  मेड इन नेपाल पेभेलियन,  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।
एक्सपोका साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीका अनुसार मंगलबार लोकदोहोहरी गायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, तारापति पराजुली, कुमार पुन, घनश्याम भुषाल, माया गुरुङ, सीता केसी,सजना बास्तोला,अम्बर धिताल, सरला पाण्डे र सुरेश रानाको प्रस्तुति रहनेछ । यसैगरी नेपालका चर्चित गायक प्रमोद पोखरेलको विशेष प्रस्तुतिसहित सुमन केसीको समूह र लोकदोहोरी प्रतिष्ठान लमजुङबीचको दोहारी प्रतिष्पर्धा पनि रहेको साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिनुभयो ।
हाँस्य कलाकार पुरुषोत्तम भण्डारी ( पुर्खेवा), घाँटु नाच तथा शिववस्ती आमा समूह , खाष्टेताल बाराही आमा समूह र काहुँ कालिका आमा समूहको रत्यौली प्रतिष्पर्धाले पनि एक्सपोका अवलोकनकर्तालाई मनोरञ्जन दिने उहाँको भनाई छ ।
यता प्रवेश टिकटमा दैनिक पुरस्कार समेत यता आइतबारको प्रवेश टिकटमा राखिएको उपहार अन्तर्गत ६० रुपैयाँतर्फको ४६६६ नम्बर टिकटलाई माइक्रो ओभन उपहार प्राप्त भएको छ । मंगलबार प्रवेश टिकटमा १ सय लिटरको रेफ्रिजेरेटर उपहार राखिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...