सफल एक्सपोको अटो तथा पुष्प प्रदर्शनीमा विशेष चासो

पोखरा, १८ मंसिर / पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा’ पृुरानो राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप भएको आयोजकहरुले दोहो¥याएका छन् ।

‘हामीले नै नेपालमा पहिलो पटक मेला र महोत्सव आयोजनाको सुरुवात गरेका हौँ’,संघका अध्यक्ष दामु अधिकारीले भन्नुभयो,‘ अहिलेको मेला पनि त्यसैको निरन्तरता हो ।’ यता, एक्स्पोमा रहेको अटो प्रदर्शनीबाट केही मोटरसाइक तथा स्कुटरहरु बिक्री भएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार एक्सपोमा राखिएको भेस्वा ब्राण्डका ४ वटा र महेन्द्राको तीनवटा स्कुटर बिक्री भएका हुन् । एक्सपो अन्गर्तत राखिएको अटो प्रदर्शनीमा विभिन्न १९ वटा कम्पनीका गाडी, मोटरसाइकल र स्कुटरहरु राखिएका छन् ।

‘अटो प्रदर्शनी हाम्रो मेलाको नियमित कार्यक्रम हो’, उहाँले भन्नुभयो,‘अटोमोवाइल्स डिलर्स एसोसियसनसँगको सहकार्यमा राखिँदै आएका स्टलहरु प्रदर्शनीको विशेष आकर्षण पनि हो ।’ त्यसो त, एक्स्पोमा राखिएका प्राङ्गारिक सामानहरुले पनि सहभागीहरुको ध्यानाकर्षण गरेको छ ।

महिला उद्यमीहरुका उत्पादन, अचारहरु, हस्तकलाका सामाग्रीहरु सुपथ मूल्यमा बिक्री भइरहेको पनि मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले दावी गर्नुभयो ।

‘यहाँ भएका सबैजसो स्टलहरुबाट विशेष छुटका साथ सामानहरु बिक्री भइरहेको छ’, उहाँले भन्नुभयो,‘मेला अगाडि बढ्दै गर्दा छुटको मात्रा पनि बढ्दै गएको छ ।’ साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्य समिति सदस्य केशवबहादुर खत्रीका अनुसार बुधबार मंसिर १९ गते पप÷आधुनिकतर्फ रमेशराज भट्टराईको प्रस्तुति रहनेछ भने लोकदोहोरीतर्फ प्रिति आले, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ, प्रदीप त्रिपाठी,शिवहरि ढुंगाना,शंकर पन्त र लक्ष्मी बानियाले दर्शकहरुलाई मनोरञ्जन दिनुहुनेछ ।

यसैगरी लोकदोहोरी प्रतियोगितातर्फ बिसाउने दोहोरी साँझ र लोकदोहोरी प्रष्ठिान स्याङ्जाबीच घम्साघम्सी हुनेछ । रत्यौलीमा रामचौतारी आमा समूह र महाकालेश्वर आमा समूहबीच प्रतिष्पर्धा हुनेछ भने मगर समुदायको झाम्री नाच पनि बुधबारको आकर्षण रहनेछ । यता मंसिर १८ गते गायक प्रमोद खरेललले ‘म बिना कसैकसैलाई मुस्लिक छ पोखरामा भन्दै संगीतप्रेमीहरुलाई भरपुर मनोरञ्जन दिनुभयो ।

एक्सपो अन्तर्गतको प्रवेश टिकटमा राखिएको दैनिक पुरस्कार अन्तर्गत सोमबार १७ गते काटिएको टिकटमध्येबाट गोलाप्रथाबाट ६० रुपैयाँ टिकटतर्फको ५५०२ नम्बर सिजीको रेफ्रिजेरेटर उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक तारानाथ ढुंगानाले जानकारी दिनुभयो । बुधबार पनि प्रवेश टिकटमा युरो गार्ड पुरस्कारको व्यवस्था गरिएको छ ।

पुष्प प्रदर्शनीमा विशेष आकर्षण

पोखराको नयाँबजारमा जारी सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ मा राखिएका फूलका स्टलहरुमा अवलोकनकर्ताले विशेष रुची देखाएका छन् । मेलामा राखिएका बसन्त नर्सरी, पुष्पाञ्जली फ्लावर र सृजना फ्लावरको स्टलमा राखिएका फूलहरुप्रति उपभोक्ताको रुची देखिएको हो ।
‘हामीले यो पटक एक्सपोको प्रवेश द्धारनेर नै फूल सजाएका छौँ’, दैनिक जीवनको अपरिहार्य मानिएको फूलप्रति आम उपभोक्ताले देखाउनुभएको चासोले हामी उत्साहित छौँ’,बसन्त नर्सरीका संचालक बसन्त बानियाँले भन्नुभयो,‘ हामीले यहाँ (मेलाबाट) आम उपभोक्तालाई फूलबारे जानकारी दिने व्यवस्था मिलाएका छौँ ।’ प्रदर्शनीमा कट फ्लावरसहित सजावटका अन्य फूल र विरुवाहरु सुपथ मूल्यमा बिक्री भएको उहाँको भनाई थियो ।

कमेन्टहरु
Loading...