पोखरा रुपाकोट रिसोर्ट स्तरीय बस सेवा सञ्चालन

सुरेन्द्र पौडेल
पोखरा, १० पुस / पोखराका खपौदी देखी कास्कीको रुपाकोट रिसार्ट सम्म स्तरीय बस सेवा सञ्चालन गरेको छ । टोयटा कोस्टरको २६ सिट क्षमताको बसले अब दैनिक सेवा प्रदान गर्नेछ ।

पोखराको खपौदीस्थित द कल्चर रिसोर्टबाट बिहान छुट्ने बसले पोखराको लेकसाइड, विमानस्थल हुँदै रुपोकाटसम्म दैनिक सेवा प्रदान गर्नेछ । रुपाकोटबाट पनि सोही रुटमा बसले सेवा प्रदान गर्नेछ । द कल्चर रिसोर्टमा एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बस सेवाको बिहीबार उद्घाटन गरे ।

रुपाकोट रिर्साटको पाँचौं वार्षिकोत्सवको अवसर पारेर बस सञ्चालन गरेको हो । वार्षिकोत्सवको अवसरमा रिसोर्टले पोखरादेखि रुपाकोटका लागि सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्टले बस सेवा सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा मेयर जिसीले नयाँनयाँ गन्तव्यको पहिचान र खोजी गर्नसके पर्यटन व्यवसायले फड्को मार्ने धारणा राखे । ‘पर्यटनमैत्री वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नुपर्छ,’ उनले भने, ‘परम्परावादी ढंगबाट मात्रै व्यवसाय सञ्चालन गरेर हुँदैछ ।’

पोखरा र रुपाकोट यात्रालाई सहज बनाउने लक्ष्यसहित बस सेवा सञ्चालन गरिएको रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले जानकारी दिए । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सेवा सुरु गरेका छौं,’ उनले भने, ‘रुपाकोट रिसोर्टको मात्रै नभइ समग्र रुपा गाउँपालिकामा पर्यटकीय गतिविधि बढाउन हामी सक्रिय छौं ।’ स्तरीय पर्यटन विकासका लागि आफू लागिरहेको उनले बताए ।

टोयटाको कोस्टर बस सुविधा सम्पन्न छ । बसमा आरामदायी यात्रा गर्न सकिने अधिकारीले बताए । यो बसको मूल्य १ करोड ३५ लाख रुपैयाँ पर्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रुपाकोट रिसोर्ट ५ वर्ष अघि सञ्चालनमा आएको हो ।

‘रुपाकोट पोखराबाट धेरै टाढा छैन,’ अधिकारीले भने, ‘शान्त वातावरणमा सुन्दर दृश्यहरु अवलोकन गर्दै रमाउन चाहने पर्यटकका लागि रुपाकोट रिसोर्ट आकर्षक गन्तव्य बनेको छ ।’ एक दिनका लागि होटल बुकिङ गरेर आएका पर्यटक रुपाकोटमा ४ दिनसम्म बसेको अधिकारीले जानकारी दिए । ‘पर्यटकको बसाइँ लम्ब्याउन पनि रिसोर्टले सहयोगी भूमिका निर्वाह गरेको छ,’ उनले भने । २ सय रोपनी जग्गामा सञ्चालित रिसोर्टमा ४२ वटा कोठा छन् ।

कमेन्टहरु
Loading...