रुपामा अर्गानिक खेतीगर्ने किसानलाई अनुदानको व्यवस्था

तरकारी र दूधको ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्न

पोखरा, ११ असार/कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै कास्कीको रुपा गाउँपालिकाले अर्गानिक खेतीगर्ने तर्फ किसानलाई प्रेरित गरेको छ । विषादी युक्त तरकारीले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने ठहर गर्दै गाँउपालिकाले विषादीरहित खेतीको लागि किसानलाई अनुदान दिने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष नवराज ओझाले अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिइने उदघोष गरे । उनले मागमा आधारित आवश्यक अनुसार किसानलाई तालिमको व्यवस्था समेत गरिने उल्लेख गरे । उनले विषादीरहित कृषि उत्पादनको लागि माटो परीक्षण र बातावरण अनुकुलको बाली लगाउन विज्ञको सुझाव लिईने बताए । उनले गाँउपालिकाका सम्पूर्ण किसानलाई भकारो सुधार कार्यक्रमको लागि ६० प्रतिशत अनुदान दिई पूर्ण भकारो सुधारयुक्त गाँउपालिका घोषणा गरिने बताए ।

गाउँपालिकामा किसानले उत्पादित कृषिजन्य बस्तुको बजारीकरण समेत गरिने छ । उत्पादित बस्तुलाई बजारको अभाव नहुने गरी गाँउमै भेगीय हिसाबमा किसानलाई लक्षित गरी चिस्यान केन्द्र निर्माण गर्ने योजना अघि सारेका छन् । ‘वडा नं ३, ६ र ७ मा दशटन क्षमताका चिस्यान केन्द्र(कोल्डस्टोर) निर्माण गरिने योजना छ ।’ उनले भने–‘कोल्ड स्टोरका ेलागि प्रदेश सरकार र स्थानीय तहको समन्वयमा राख्ने व्यवस्था मिलाईने छ ।’

उनले कोल्डस्टोरबाट बजारसम्म लाग्ने भाडामा समस्या नपरोस भन्ने उद्देश्य राख्दै उत्पादनमा आधारित किसान समूह, सहकारी र फर्मले मासिक २ हजार केजी भन्दा माथि तरकारी र फलफुल एवं २ हजार ५ सय लिटर भन्दा बढीको दूधको ढुवानी गाउँपालिकाल नै व्यहोर्ने व्यवस्था मिलाइएको कार्यक्रममा सुनाए । ‘किसानले मात्रै अनुदान पाउन भन्ने उद्देशयसहित यस वर्ष उत्पादनमा आधारति अनुदानको व्यवस्था गरिएको छ ।’ उनले थपे–‘अनुदानको दुरुपयोग नहोस र बास्तविक किसानले अनुदान पाओस भन्ने चाहना हो ।’

किसानलाई विषादीरहित उत्पादनसँगै व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने योजना समेत गाँउपालिकाको छ । आधुनिक यान्त्रीकरण गर्ने उद्देश्यसहित समूहमा उपकरणको प्रयोग गर्न ६० प्रतिशत अनुदानको व्यवस्था रहेको उल्लेख गरे । बाँझो जग्गालाई भाडामा लिएर खेती गर्ने योजना अन्य गाँउपालिकाले पनि राखेका छन् । जग्गा चक्लाबन्दी गर्नको लागि ५० प्रतिशत अनुदानको व्यवस्था मिलाईएको अध्यक्ष ओझाले बताए ।

जग्गा चक्लाबन्दी गरेपनि अनिवार्य व्यवसायिक खेती लगाउनुपर्ने प्रावधान गाउँपालिकाले बनाएको छ । ‘बाँझो जग्गालाई दोब्बर कर लिने नीतिलाई निरन्तरता दिएको छु ।’ उनले सुनाए । गाउँघरमा किसानलाई बाँदरले हैरानी खेलाउने गर्छन् । बाँदर नियन्त्रणको कार्यक्रम समेत निरन्तरता दिइएको छ ।

तरकारीसँगै पशुपालनबाट राम्रो आम्दानी लिन सकिने ठहर गर्दै गाउँपालिकाले किसानलाई पर्याप्त आम्दानीको स्रोत जुटाउन प्राकृतिक तथा कृत्रिम नश्ल सुधारको कार्यक्रम समेत गर्ने जनाएको छ । मासिक रुपमा कृषि तथा पशुको प्रत्येक वडा ३ शिविर राख्ने जनाईएको छ । किसानलाई अत्यावश्यक विउ बिजनमा विपन्नहरुलाई लागत साझेदारीको व्यवस्था समेत गरिएको अध्यक्ष ओझाले जानकारी दिए । ‘एक वडा एक नर्सरी केन्द्रको विकास गरिने छ ।’ उनले भने ।

प्राकृतिक विपत्तिले तरकारी एवं पशुपालन गर्ने किसानले वर्षेनी क्षति व्यहोर्दै आएका छन् । गत वर्ष मुस्ताङमा हिउँ पर्दा भेडाबाख्रा हिँउमै पुरिएका थिए । केही भेडा बाख्रा चरनको अभावले भोकभोकै मरेका थिए । आईपर्ने प्राकृति विपत्तिलाई ध्यानमा राख्दै गाँउपालिकाले किसानलाई विपद रोकथाम गर्नुको साथै विमा कार्यक्रमलाई प्रभावकारी बनाईने विश्वास व्यक्त गरे ।

‘विमा कार्यक्रम प्रभावकार बन्न सके किसान व्यवसायिक तरकारी तथा पशुपालन तर्फ आकर्षित हुने छन् ।’ उनको भनाई थियो । गाउँपालिाले निर्वाहमुखीलाई भन्दा व्यवसायिक तथा बढीआम्दानी गर्ने बातावरण बनाउनको लागि समूह, सहकारी तथा सामुहिक फर्मलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

कमेन्टहरु
Loading...