व्यवसायी हुनुहुन्छ, रामदेव बाबाका टिप्स यस्ता छन्

काठमाडौं, ८ मंसिर/पतञ्जली आयुर्वेद लिमिटेडले नेपालमा आगामी १० वर्षमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा लगानी गर्न लागेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ पुर्‍याउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको पर्सौनीमा पतञ्जली उद्योग स्थापना गरिसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार योगगुरु रामदेव र आचार्य बालकृष्णलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानी गर्ने बताएका हुन् । ‘हामी नेपाल स्वस्थ र समृद्ध भएको हेर्न चाहन्छौँ,’ उनले भने । कम्पनीले उक्त समयभित्र २० हजारलाई प्रत्यक्ष र एक लाखजनालाई अप्रत्यक्ष रोजगारी दिनेसमेत बताए ।

पतञ्जली र उद्योगी महतोको लगानीमा वीरगन्जको पर्सौनीमा स्थापना भएको उद्योगमा हालसम्म एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगले अहिले ६० प्रकारका वस्तु उत्पादन गरिरहेको  महतोले जानकारी दिए । ‘पहिलो चरणमा खाद्यान्न, आयुर्वेद तथा कस्मेटिक वस्तु उत्पादन गर्न सुरु गरेका छौं’ उनले भने, ‘दोस्रो चरणमा औषधिलगायत अन्य सामग्री उत्पादन हुने छ ।’

उत्पादनमा लगानी गर्न आग्रह

योगगुरु रामदेवले नेपाली निजी क्षेत्रलाई व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी गर्न आग्रह गरेका छन् । उनले व्यापारमा भन्दा उत्पादनमा बढी सम्मान मिल्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । अर्काको ब्रान्ड बिक्री गर्दा तत्काल फाइदा भए पनि दीर्घकालीनका लागि आफ्नै ब्रान्ड स्थापित गर्नुपर्ने बताए । ‘हो उत्पादनका लागि चार–पाँचवटा चुनौती छन् र आफ्नै ब्रान्ड बनाउन १०–२० वर्ष लाग्छ,’ उनले भने, ‘मिहिनेत गर्न सके यो सबै सम्भव छ भन्ने कुरा पतञ्जलीले देखाएको छ ।’ पतञ्जलीले २० वर्ष लगाएर आफ्नो ब्रान्ड स्थापित गरेको र यसको वार्षिक कारोबार अहिले १० हजार करोड भारु नाघेको उनले बताए ।

नाफा फिर्ता नलाने

रामदेवले नेपालमा पतञ्जलीको उद्योग व्यवसायबाट हुने कुनै पनि नाफा भारत फिर्ता नलाने घोषणा गरेका छन् । उनले आफू नेपाललाई भारतजत्तिकै प्रेम गर्ने भन्दै यहाँ हुने नाफा फिर्ता नलैजाने घोषणा गरेका हुन् । ‘हामी अर्को वर्षबाट विकसित देशमा वार्षिक १० हजार करोड भारुबराबरको उत्पादन निर्यात गर्नेछौँ र ती मुलुकबाट भारतमा नाफा ल्याउनेछौँ,’ उनले भने, ‘तर, नेपालबाट नाफा भारत लैजाने छैनौँ ।’ उनले जुन मुलुकमा लगानी गरेको हो त्यही मुलुकको समेत भलाइ गर्नुपर्ने बताए ।

नेपाली व्यवसायीलाई रामदेवका टिप्स

तपाईंहरू ट्रेडिङ (व्यापार)मा व्यस्त हुनुहुन्छ, अब उत्पादनमा लाग्नुस्

अर्काको ब्रान्ड बेचेर उसैलाई फाइदा हुन्छ, आफ्नो ब्रान्ड बनाउनुस्

एउटै ब्रान्डबाट विभिन्न उत्पादन निकाल्न ‘अम्ब्रेला ब्रान्ड’ खडा गर्नुस्

परम्परागत शैलीले होइन, नयाँ सोच, सिर्जनशील र फरक शैलीले उद्यममा लगानी गर्नुस्

विज्ञापनमा दाबी गरेजस्तै उत्पादनमा पनि गुणस्तर कायम गर्नुस्

कम मार्जिनमा धेरै बिक्री गर्नुस्

जुन देशमा कमाउनुहुन्छ त्यो देशको भलाइ हुने काम गर्नुस्

कमेन्टहरु
Loading...