रेष्टुरेण्ट सञ्चालन सम्बन्धि एक दिने स्मार्ट तालिम

पोखरा, २० माघ /रेवान पोखराको आयोजनामा पोखरामा रेष्टुरेण्ट व्यवसाय सम्बन्धि एक दिने स्मार्ट तालिम सम्पन्न भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसनको सहयोगमा सम्पन्न उक्त तालिममा रेष्टुरेण्ट व्यवस्थापन, मेनु डिजाइन, विक्री प्रवद्र्धन लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

प्रशिक्षकद्वय द हङ्गकङ्ग पोलिटेक्निक विश्वविद्यालयका र्यान पि स्मिथ र डा.मुरे म्याकेन्जिले तालिममा सहजिकरण गरेका हुन् । तालिममा रेवान पोखरामा आवद्ध झण्डै ४० रेष्टुरेण्टका सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेवान पोखराका सल्लाहकार एवं अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले पोखराको पर्यटनमा दक्ष कामदारको अभाव खड्किएको बताएका थिए । यस्ता तालिमहरुले दक्षता अभिबृद्धि हुने भन्दै तालिमको आवश्यकता पर्नेमा जोड दिए । तर तालिम अथवा सैद्धान्तिक ज्ञान लिएर निपूर्ण भएका जनशक्ति विदेश पलायन भइदिंदा यहाँको पर्यटन उद्योगलाई जहिले पनि समस्या हुने उनले औंल्याए ।

पर्यटन विकासका लागि अन्र्तराष्ट्रिय विमानस्थल, सुविधाजनक सडक यातायात लगायतको भौतिक पूर्वाधारको खाँचो रहने भएपनि सरकारले यसतर्फ चासो नदेखाएकोमा भट्टराईले गुनासो प्रकट गरे । पर्यटन विकासमा सरकार र निजि क्षेत्रले साझेदारी गर्न खाँचो रहने उनको भनाई थियो । पाटाका सुरेश सिंह बुडालले पाटाका गतिविधीबारे प्रकाश पारेका थिए ।
रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण बरालले स्वागत महासचिव विश्वराज पौडेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...