दोस्रो सिटी रेवान महोत्सव मंशिर १३ देखि

पोखरा, २९ कात्तिक /दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिभल पोखरामा मंशिर १३ गतेदेखि हुने भएको छ। पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशनको आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा हुने महोत्सव मंशिर २३ गतेसम्म चल्ने पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पहिलो पटक गतवर्ष दशै अगाडी आयोजना गरिएको महोत्सव दर्शकहरुको सहजताका लागि यसवर्ष झण्डै डेढ महिना पछाडी सारिएको हो । पर्यटन प्रवद्र्वन, समाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ।
महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ।

महोत्सवमा विभिन्न व्यवसायका एक सय १०, रेष्टुरेण्टका १२, समाजिक सङ्घ संस्था, सुरक्षा र स्वास्थ्यका ८ गरी एक सय ३० वटा स्ट्रल रहने छन्। महोत्सव सम्पन्न गर्न २७ लाख २० हजार खर्च लाग्ने तथा महोत्सवबाट २९ लाख ७० हजार आम्दानी हुने अपेक्षा गरिएको छ। महोत्सवबाट बचत भएको रकममध्य पाँच÷पाँच प्रतिशत सरसफाई र असहाय बालबालिकाका लागि खर्च गरिने एशोसियशनका अध्यक्ष के.पी शर्मा(पाध्या)ले
जानकारी दिए। महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

महोत्सव सम्पन्न गर्नका लागि अध्यक्ष शर्मा(पाध्या)को अध्यक्षतामा मुल आयोजक समिति र विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको छ। अर्थ उपसमितिमा दिपक शर्मा नेपाल र वीरेन्द्र शेरचन, प्रचार प्रसारमा दिपक तिमिल्सिना, स्टल व्यवस्थापन, साउण्ड सिष्टम, मञ्च सजावट तथा अतिथि सत्कारमा पिताम्बर शर्मा, रोशन महर्जन, साजन ताम्राकार रहेका छन्।

महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिएको छ।पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशनका अध्यक्ष के.पी शर्मा(पाध्या)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष पिताम्बर पौडेलले स्वागत र महासचिव दिपक तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए। aएशोसियशनमा पोखरामा संचालित ७२ वटा रेष्टुरेण्ट आवद्व छन्।

कमेन्टहरु
Loading...