गण्डकी प्रदेशमा १० महिनामा २० प्रतिशत बजेट खर्च

पोखरा, ४ जेठ /गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडी बढेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधीमा २० प्रतिशत मात्रै बजेट खर्च भएको छ । कुल बजेटको ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले सुस्त गतिमा बजेट खर्च भएपछि लक्ष्य भेट्टाउन मुश्किल देखिएको छ ।

१० महिनाको अवधीमा गण्डकी प्रदेशमा ४ अर्ब ७७ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो बजेटको १९ दशमलब ८६ प्रतिशत मात्रै हो । गण्डकी प्रदेश सरकारले चालु खर्चतर्फ २ अर्ब १२ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ ।

८ अर्ब ११ करोड चालु खर्च रहेको प्रदेश सरकारले १० महिनाको अवधीमा २६ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशका प्रदेश लेखा नियन्त्रक जयराम पौडेलले जानकारी दिए । त्यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारले २ अर्ब ६४ करोड मात्रै खर्च भएको बताए । १५ अर्ब ९० करोड बजेट छुट्याएको पुँजीगत खर्चतर्फ हालसम्म १७ प्रतिशत मात्रै खर्च भएको उनले बताए ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै खर्च गर्ने मन्त्रालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय पहिलो नम्बरमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको १० महिनाको अवधीमा ८० प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा भन्दा कम खर्च गर्ने मन्त्रालयमा आन्तरिक मार्मिला मन्त्रालय रहेको छ । उसले चालु आर्थिक वर्षको १० महिनामा १० प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसै गरि पूर्वाधार विकास मन्त्रालयले २३ प्रतिशत, कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयले १२ प्रतिशत खर्च गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१ प्रतिशत खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले १८ प्रतशित खर्च गरेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ का लागि २४ अर्ब २ करोडको बजेट प्रस्तुत गरेको थियो । बजेट खर्च नहुनुमा संघीयताको मूल मर्म अनुसार श्रोत र साधनको अभाव मूल कारण रहेको गण्डकी प्रदेश सरकारले बताउदै आएको छ ।

कमेन्टहरु
Loading...