माघ १८ गतेदेखि पोखरामा ल्होछार महोत्सव हुँदै

पोखरा, १५ माघ /मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख इकाई समिति कास्कीले जानकारी दिएको हो । महोत्सवको इन एसोसियसन विद नेपाल तामाङ घेदुङ, कास्की रहेको छ ।

महोत्सवमा घरायासी प्रयोजनका लागि आवस्यक सामाग्रीहरुका स्टल, बाल उद्यान तथा रमाईलो मेला, विभिन्न प्रकारका फुड स्टल, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरुका अलावा विभिन्न जनजातीहरुको भेषभुषा झल्कने सामाग्रीहरुको प्रदर्शन गरिने मेला संयोजक अमन तामाङले जानकारी दिए ।

मेलामा लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, कमेडी नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य प्रतियोगितासंगै राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको लोकदोहोरी तथा पप आधुनिक कन्र्सट हुने उनले बताए ।

मेलामा लोकदोहोरीतर्फ मिलन लामा, ज्योती मगर, चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, दुर्गा गुरुङ, ईन्द्रा गुरुङ, करन तामाङ, ओम गुरुङ लगायतको प्रस्तुती रहनेछ भने पोखरेली माग्नेबुढा, सुरज भिरखोइरे, दिपक थापा मगर लगायतका कलाकारहरुको हाँस्य प्रस्तुती रहने आयोजकले जनाएको छ । पप कन्र्सट तर्फ विजय लामा एण्ड टिम, नरेन लिम्बु, छेवाङ लामा, प्रोजेक्ट वान, आरम्भ तामाङ, मिस्टर डी, अल्मोडा राना उप्रेती, मंगोलियन हर्ट, डि मोर्चा तथा भाई गुरुङको प्रस्तुती रहनेछ ।

पोखरेली दर्शकहरुमा अत्याधिक माग भएका कलाकारहरुलाई पप कन्र्सटमा बोलाईएको र धेरैजसो कलाकारहरुले पहिलो पटक पोखरामा प्रस्तुती राख्ने भएकाले पनि मेलामा दर्शकको उल्लेख्य उपस्थिती रहने आयोजकको विश्वास छ । सोनाम ल्होछार मनाउन तामाङ समूदायका मानिसहरु देशभरबाट मेलास्थलमा उपस्थित हुने आयोजकको दावी छ । सोनाम ल्होछार तामाङ समूदायको महत्वपूर्ण पर्व हो ।

कमेन्टहरु
Loading...