पोखरा ट्रेडमलको बम्पर उपहार मोटरसाइकल र स्कुटर हस्तान्तरण

पोखरा, १६ पुस/पोखरा ट्रेड मल चिप्लेढुङ्गाले चाड पर्वहरुलाई लक्षित गरी सञ्चालन गरेको ‘दशै तिहार मेला बम्पर उपहार’ कार्यक्रमको बम्पर उपहार हस्तान्तरण गरिएको छ । बम्पर उपहार बिजेता कालिका ६ कास्कीका इमनाथ अधिकारीले यामाहाको एफजेट मोटरसाइकल उपहार प्राप्त गरेका छन् ।

त्यसैगरी अर्का भाग्यमानी ग्राहक रामबजारकी अञ्जनी आचार्यले यामाहाको स्कुटर प्राप्त गरेकी छन् । शुक्रबार एक कार्यक्रमका बीच अधिकारी र आचार्यलाई बम्पर पुरस्कार अन्तर्गतको मोटरसाइकल र स्कुटर हस्तान्तरण गरिएको हो । अधिकारीले ट्रेड मलबाट १ हजार ५ सय रुपैयाँ बराबरको अफिस ड्रेस किनेका थिए । आचार्यले जिन्सको जकेट, पाइन्ट सहित करिब ५ हजार रुपैयाँको कपडा किनेकी थिइन् । गत असोज १५ देखि मंसिर २४ गतेसम्म मलमा सपिङ गर्ने ग्राहकलाई उपहार कार्यक्रममा सहभागी गराइएको थियो ।

गत मंसिर २५ गते एक कार्यक्रमका बीच उपहार सार्वजनिक गरिएको थियो । बम्पर उपहारमा भाग्यमानी बनेका अधिकारी र आचार्यलाई मलका अध्यक्ष विन्दुकुमार थापा तथा सञ्चालकहरुले संयुक्त रुपमा मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले रचनात्मक काम गर्ने उद्देश्यले उपहार योजना सञ्चालन गरिएको धारणा राखे । ‘नाफा मात्र कमाउने हाम्रो उद्देश्य होइन,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व बहनमा पनि हामी अग्रसर छौं ।’ आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गरिने उनले जानकारी दिए । मलमा सपिङ गरेर प्राप्त गरेका एउटा कुपनले २ लाख ५१ हजार रुपैयाँ बराबरको मोटरसाइकल उपहार पाउँदा आफूलाई निकै खुसी लागेको बम्पर उपहार बिजेता अधिकारीले बताए ।

अर्का बिजेता आचार्यले १ लाख ७४ हजार ९ सय रुपैयाँ बराबरको स्कुटर प्राप्त गरेकी हुन् । सोच्दै नसोचेको उपहार जित्दा आफूलाई भाग्यमानी अनुभव भएको उनले प्रतिक्रिया दिइन् । उपहार कार्यक्रम अवधीभर ग्राहकले प्राप्त गरेका करिब ९० हजार कुपनलाई बम्पर उपहारमा सहभागी गराइएको कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । मेला सुरु भएदेखि मलभित्रबाट करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मेला अबधीभर दैनिक र साप्ताहिक उपहारसमेत प्रदान गरिएको थियो । साप्ताहिक उपहार अन्तर्गत ३२ ईन्चको टि.भी. हेमजाकी नानु रेग्मी, पोखराकी सम्झना गुरुङ, लक्ष्मी लामा, हिरा माया गुरुङ, पामेका उकेश घलेले र २०० लिटरको फ्रिज पोखराका अश्रित थापा, हेमा गुरुङ, प्रविन गुरुङ र एशिका गुरुङ,ले जितिसकेको मलका सञ्चालक एवं कार्यक्रम संयोजक बासुदेव पराजुलीले बताए ।

कमेन्टहरु
Loading...