कास्कीमा लक्ष्य अनुरुप विकास बजेट खर्च भएन, असार दोस्रो साता लाग्दा ५० प्रतिशत खर्च

सागर राज तिमिल्सिना
पोखरा, ८ असार /कास्कीमा यस वर्ष पनि लक्ष्य अनुरुप विकास खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङकले देखाएको छ । कास्कीमा असार दोस्रो साता लाग्दा विनियोजित बजेटको जम्मा ५० प्रतिशत मात्रै पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख कोष नियन्त्रक केशवराज ढकालले जानकारी दिए ।

कास्कीका लागि विकास खर्च पुँजीगत तर्फ १ अर्ब ८२ करोड ९१ लाख रुपैयाँको अख्तियारी आएको छ । अख्तियारी आएको मध्ये अहिलेसम्म ९१ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ५० प्रतिशत मात्र हो । त्यस मध्ये ४ करोड ५२ लाख रुपैया असार पहिलो सातामा खर्च भएको छ ।

त्यसै गरि आर्थिक वर्षको लागि सरकारले कास्कीमा चालु खर्चका लागि ५ अर्ब ५८ करोड ४२ लाख रुपैयाँ अख्तियारी प्रदान गरेको छ । अहिलेसम्म ४ अर्व ७७ करोड ३१ लाख खर्च भई सकेको ढकालले जानकारी दिए । यो कुल बजेटको ८५ प्रतिशत हुन आउछ । चालु बजेट कर्मचारीको तलबभत्ता, गोष्ठी र अन्तरक्रिया लगाएमा खर्च हुने गर्दछ ।

असार २६ गतेसम्म सम्बन्धित कार्यालयको भुक्तानी आदेशका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयले रकम निकासा गर्ने गर्दछ । बजेट तजुमा ढिलो हुनु, कार्यान्यन प्रक्रिया लामो, अख्तियारी ढिलो आउनु, खरिद प्रक्रिया झन्झटिलो भएकाले समयमै विकास बजेट खर्च हुन नसकेको प्रमुख ढकालले बताए ।

कमेन्टहरु
Loading...