पोखराको लेकसाइडमा खुल्यो १० करोड लगानीमा ‘मेट फाइभ’

सुरेन्द्र पौडेल
पोखरा, १ चैत /पोखराको लेकसाइडमा सुविधा सम्पन्न रेस्टुरेण्ट सञ्चालनमा आएको छ । बिगत ३० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध व्यवसायी वसन्त गौतमले मेड फाइभ रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । लेकसाइडस्थित गौरीघाटमा करिब १० करोड रुपैयाँ लगानीमा रेस्टुराँ खुलेको हो ।

यस अगाडि पोखरामा टेम्पल ट्रि रिसोर्ट र क्याफे कन्सटो रेस्टुराँ सञ्चालन गरिरहेका गौतमले नयाँ रेस्टुराँमा लगानी बिस्तार गरेका हुन् । ५ वटा ‘मेडिटराइन कन्ट्री‘हरुका खानाका स्वाद पोखरामा उपलब्ध गराइने गरी रेस्टुराँ सञ्चालनमा ल्याएको गौतमले बताए । ‘इटाली, फ्रान्स, स्पेन, ग्रिस, टर्कीका खानाका स्वाद तथा परिकारलाई रेस्टुराँमा विशेष फोकस गरिएको छ,’ उनले भने, ‘यसका साथै अर्डर अनुसारका खाना, खाजा तथा नेपाली स्वाद पनि खुवाउँछौं ।’

एकै समयमा १ सय ८० जनालाई सेवा प्रदान गर्न सकिने गौतमले बताए । ‘हाइटेक किचनबाट खानाका परिकार तयार गरिन्छ,’ उनले भने । इटालीबाट सामानहरु आयात गरेर किचन तयार पारिएको गौतमले जानकारी दिए । ‘ओपन किचन’ भएकाले पाहुनाले आफूले खाने परिकार पकाएको प्रत्यक्ष हेर्न सक्छन् ।

आइसक्रिम र बेकरीको सुविधा पनि रेस्टुराँमा उपलब्ध छ । ३ तलाको रेस्टुराँमा प्रत्येक तलालाई फरक–फरक तरिकाले ब्राण्डिङ गरिएको छ । ग्राउण्ड फ्लोरमा कफी, पहिलो तलामा किचन र साधारण रेस्टुराँ तथा दोस्रो तलामा प्राइभेट पार्टीका लागि लक्षित गरी सेवा प्रदान गरिरहेको गौतमले जानकारी दिए ।

‘रेष्टुराँबाट वरपरको दृश्यावलोकन गर्दै खानामा रमाउन सकिन्छ,’ गौतमले भने, ‘ताल र हिमाल एकै ठाउँबाट अवलोकन गर्ने अवसर पनि मिल्छ ।’ पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गरिने उनले बताए । रेस्टुराँमा ३० जनालाई रोजगारी दिइएको छ ।

कमेन्टहरु
Loading...