पोखरामा पुष्प व्यापार मेला सुरु, खेतीयोग्य जमिनको वर्गिकरण गर्ने मन्त्री थापाको उद्घोष

पोखरा, २६ फागुन/पोखराको सभागृह परिसरमा शुक्रबार देखि पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रर्दशनी एवं व्यापार मेला सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको आयोजनामा मेला सुरु भएको हो । मेलामा यस क्षेत्रका ३० वटा व्यवसायिक नर्सरीका स्टलहरु रहेका छन् । सो मेला आउँदो फागुन २९ गतेसम्म संञ्चालन हुने मेला आयोजक समितिका संयोजक एवं फ्यान कास्कीका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिएका छन् ।

मेलाको उद्घाटन गर्दै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखवहादुर थापाले पोखरा सहरलाई फूलको सहरका रुपमा विकास गरिने वताए । उनले खेती योग्य जमिनको वर्गीकरण गरेर चक्लावन्दी गरिने समेत वताएका छन् । कृषि क्षेत्रलाई जोन र सुपरजोन क्षेत्रमा विभाजन नगरेसम्म आर्थिक क्रान्ति संम्भव नरहेको उनको भनाई छ । प्रदेशलाई आवस्यक पर्ने नियम कानून तयार पारेर यो काम गर्ने उनको भनाई छ । उनले व्यक्तिगत तथा सरकारी जमिनलाई लिजमा दिने र लिने परिपाटीको विकास नगरेसम्म कृषि क्षेत्रको उन्नति हुन नसक्ने वताए ।

फ्यानका केन्द्रीय अध्यक्ष कुमारकसजु श्रेष्ठले फूल खेती भएका देशमा द्धन्द्ध कम हुँदै गएको वताउँदै फूल शान्तिको प्रतिक भएको वताए । सरकारले फूल खेतीमा ऐथेष्ट लगानी वढाउनु पर्ने उनको भनाई छ ।  उनले नेपालमा हाल ५ अर्वको फूलको कारोवार हुने गरेको सुनाए । नेपालको १ सय ५० हेक्टर जमिनमा फूल खेती गरिएको उनको भनाई छ ।

सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रतिस्पर्धिलाई पुरस्कार वितरण गरिएको थियो । जसमा वेष्ट नर्सरी तर्फ गौतम नर्सरी, वेष्ट फ्लावर तर्फ सिजनल मनकामना नर्सरी, वेष्ट अर्नामेन्टल तर्फ पोखरा दूवो सप्लायर्स, वेष्ट ल्याण्डस्केप तर्फ पनि पोखरा दूवो सप्लायर्स र वेष्ट स्टलमा गुरुङ मनकामना नर्सरीलाई पुरस्कृत गरिएको थियो । फ्यान कास्कीका अध्यक्ष दयाकुमार द्धा को अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्ले, संस्थाका सदस्य सीतामाया राना लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...