तातो जेरीको मीठो स्वाद ः ८० वर्ष देखि व्यवसाय निरन्तर

वासुदेव पौडेल
पोखरा, २५ पुस / क्षणिक समयकै अन्तरालमा व्यवसाय परिवर्तन गर्ने प्रबृति बढीरहेका अवस्थामा पोखराको नालाको मुखमा वस्ने एक चुल्याजु परिवारले भने ८० वर्ष पुरानो व्यवसायलाई हालसम्म निरन्तरता दिएको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।  पोखरामा प्राचीन समयमा भुत्ते साहु भनेर चिनिने स्व.सिद्धिलाल चुल्याजुले वि.सं. १९९० मा नालाको मुखमा सुरु गरेको जेरी लगायतका मिठाइँको व्यापारलाई उहाँको परिवारले हालसम्म पनि निरन्तरता दिएका छन् ।

भुत्ते साहुको जेरी पसल भनेर पोखरा र आसपासका क्षेत्रमा प्रसिद्ध बनेको यो व्यवसायलाई सिद्धिलाल चुल्याजुको २०२८ सालमा मृत्यु भए पछि उहाँका कान्छा छोरा राजकुमार चुल्याजुले अटुट रुपमा सञ्चालन गर्दै आएका कारण जेरीको स्वादका लागि अझै पनि टाढाटाढा बाट मानिसहरू आउने गरेका छन् । विशेष गरी प्रत्येक दिन बिहान ७.०० बजेदेखि ११.०० बजेसम्म तातो जेरीको मीठो स्वादका लागि पोखराका विभिन्न ठाउँबाट उहाँको पसलमा मानिस पुग्ने गरेका छन् ।

जेरी
जेरी

अन्य ठाउँमा बन्ने भन्दा केही ठूलो हुने चुल्याजु परिवारले बनाउँदै आएको जेरीको मुल्य हाल प्रतिगोटा ३० रुपैयाँ पर्दछ ।
बुवाको मृत्यु भैसके पछि पनि भुत्ते साहुको पसल भन्दै जेरी खान आउने आफ्ना ग्राहकलाई छोरा राजकुमारले व्यवसायलाई निरुनतरता दिएका कारण अहिले पनि पसलमा उत्तिकै आकर्षण कायम छ । सामान्यतः शनिबार बाहेक अरु दिन लगभग ३०० को हाराहारीमा जेरी बच्दै आएका चुल्याजु परिवारले शनिबार लगभग ५०० को संख्यामा जेरी बेच्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजु बताउनुहुन्छ ।

”पोखरा आसपासका ठाउँका साथै स्याङजा, पर्वत, बाग्लुङ लगायतका स्थानबाट अझै पनि उमेर पुगेका बुढाबुढी भुत्ते साहुको पसलमा जेरी खान भन्दै आउने गरेका छन्,” उहाँले भन्नुभयो, “बुबाको पालामा यहाँको सेलरोटी पनि उत्तिकै प्रसिद्ध थियो, हाल जेरीका अतिरिक्त लाखमरी, ऐठे, खस्ता, लालमोहन आदि पनि बनाउने गरेका छौं ।” चाडपर्वका अवसरमा सेलरोटी, फिनी, अनरसा आदि बनाउने अर्डर आउने गरेका कारण आँफूहरूलाई भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ छ ।

छोरा राजकुमारका अनुसार आठ दशकको समयावधिमा नालाको मुख वरपर नै आफ्नो व्यवसाय सञ्चालन हुँदै आएको छ ।
१९९० साल यता २००७ सालसम्म आफ्नै घरमा सञ्चालन भएको जेरी पसल २००७ सालमा नालामुख क्षेत्रमा आगलागी भएर घर जलेपछि २०३५ सालसम्म नजिकैको भीमसेन मन्दिर अघि अर्काको घरमा सञ्चालन भएको जानकारी दिदै चुल्याजुले त्यस यता भने आफ्नै घरमा सञ्चालन भैरहेको बताउनुभयो । २०१५ सालमा राजा महेन्द्रको पोखरा वसाइमा विन्दुवासिनी मन्दिर जाँदा त्यहाँको जेरी खाएर प्रभावित भए पछि बुवा सिद्धिलाललाई रत्नमन्दिरमा नै लगेर जेरी बनाउन लगाएको अर्को मीठो अनुभव चुल्याजु परिवारमा छ ।

जेरीका कारण प्रभावित बनेका राजाले उक्त समयमा पोखरामा केही जग्गा वक्सिस स्वरुप दिएको राजकुमारले जानकारी दिनुभयो । आफ्ना हजुरबुवाले सुरु गरेको व्यवसाय पोखरा र आसपासको क्षेत्रमा नै प्रसिद्ध बन्नु गौरवको विषय भएको बताउने राजकुमारकी छोरी नोमी चुल्याजु पोखराको इतिहासको साक्षी बनेको यो व्यवसायलाई अझै राम्रोसँग निरन्तरता दिनुपर्ने धारणा राख्नुहुन्छ ।

“पहिचान भन्ने कुरा धेरै ठूलो कुरा हो, आठ दशक यता बनेको आँफूहरूको पहिचानलाई कायम गर्न यही व्यवसायलाई अझै राम्रो गर्दै लानुपर्छ,” – हाल कक्षा १२ मा पढ्दै गरेकी नोमी भन्नुहुन्छ । परिवारको दैनिकी पनि राम्रैसँग चलेको र बुबादेखि प्रसिद्धी कमाउँदै आएको जेरी पसललाई अझै पनि निरन्तरता दिने सोचमा नै रहेको राजकुमारको भनाइ छ ।

कमेन्टहरु
Loading...