पोखरामा नक्कली नोटको विगविगी, नक्कली नोटको अनुसन्धानमा ढिलाई

सुरेन्द्र पौडेल
पोखरा, ५ बैशाख/पोखरामा चैतको तेस्रो सातादेखि नक्कली नोटको विगबिगी भएपनि अनुसन्धानमा ढिलाई भएको छ । चैतको तेस्रो सातादेखि हालसम्म पोखराका विभिन्न बैंकहरुले नक्कली नोट राष्ट्रबैंक पोखरा शाखालाई बुझाइ रहेका छन् । नक्कली नोट फेला परेको लामो समय भइसक्दा पनि बजारमा कसरी नक्कली नोट भित्रिएको छ भन्ने पत्ता लगाउन राष्ट्रबैंकले सकेको छैन । फेला परेका नक्कली नोटहरु प्राय ५ सय रुपैयाँका छन् ।

नक्कली नोटहरु बढी एउटै नम्बरका छन् । राष्ट्रबैंकले जारी गरेका नोटको नम्बर कहिल्यै पनि दोहोरिदैन । बजारमा फेला परेका नक्कली नोटहरु ६७६७४६ नम्बरका बढी मात्रामा छन् । केही अन्य नम्बरका नोटहरु पनि बजारमा नक्कली भेटिएको स्रोतले बतायो । कति संख्यामा नक्कली नोट भेटिएको छ भनेर राष्ट्रबैंकले सूचना दिएको छैन । बजारबाट डिपोजिटका लागि आएका संकास्पद नोटहरु पोखराका विभिन्न बैंकहरुले अनुसन्धानका लागि राष्ट्रबैंकमा पठाएका छन् । बैंकहरुले ५ सयका नक्कली नोटहरु ४० थान भन्दा बढी राष्ट्रबैंकलाई बुझाइसकेको स्रोतले बतायो ।

राष्ट्रबैंक पोखरा शाखाले नक्कली नोट संकलन गरेको रिपोर्ट केन्द्रलाई गराइसकेको छ । पोखरामा नक्कली नोट फेला परेको सन्दर्भमा राष्ट्रबैंकले अध्ययन तथा अनुसन्धान गरिरहेको राष्ट्रबैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । ‘पोखरामा फेला परेका नक्कली नोटका सन्दर्भमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामी छिट्टै सत्यतथ्य पत्ता लगाउँछौं ।’

राष्ट्रबैंकले आवश्यक अनुसन्धान गरी थप अनुसन्धान र दोषीलाई कारबाहीका लागि प्रहरीमा रिपोर्ट पठाउँछ । ‘अहिले हामीले कसरी नक्कली नोट बजारमा फैलियो अनुसन्धान गरिरहेका छौं,’ प्रवत्ता पौडेलले भने, ‘अहिले नै सबै कुरा भन्न सकिदैन ।’ कसले ल्याएको हो भन्ने पत्ता लाग्यो भने प्रहरी रिपोर्ट गरेर तत्काल कारबाही गर्न सकिने उनले बताए ।

नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको हुनसक्ने राष्ट्रबैंकले आशंका गरेको छ । ‘गिरोह नै सक्रिय रहेको पनि हुनसक्छ । कसै न कसैले बजारमा नक्कली नोट फैलाएकै हो,’ प्रवत्ता पौडेलले भने, ‘कसरी नक्कली नोट फैलिएको छ भन्ने सबै कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’ अनुसन्धानको पाटो भएकाले सत्यतथ्य छिट्टै पत्ता लाग्ने उनले बताए ।

सङकास्पद नोटहरु राष्ट्र बैंक पोखराले संकलन गरेर केन्द्रलाई रिपोर्टिङ गरिरहेको पोखरा शाखाका कामु निर्देशक अमर अधिकारीले जानकारी दिए । ‘संकास्पद नोटहरु हामीले संकलन गरिरहेको छौं,’ उनले भने, ‘नक्कली नोट नै हो भनेर हामीले नै भन्न मिल्दैन । केन्द्रले अनुसन्धान गरेपछि प्रवक्तामार्फत सबै सार्वजनिक हुन्छ ।’

पोखरामा नक्कली नोट भेटिने क्रम बढेपछि सतर्कता अपनाउन आफूहरुले बैंकहरुलाई निर्देशन दिइसकेको कामु निर्देशक अधिकारीले बताए । ‘पाँच सयका संकास्पद नोटहरु बढी फेला परेकाले हातबाटै गन्नका लागि हामीले बैंकहरुलाई आग्रह गरेका छौं,’ उनले भने, ‘हातबाट गन्दा सजिलै नक्कली नोट पत्ता लाग्छ ।’ बजारमा नक्कली नोट बढेसँगै बैंकहरुले ‘फेकनोट डिटेक्टर मेसिन’को प्रयोग पनि बढाएका छन् । उक्त मेसिनले नक्कली नोट सजिलै पत्ता लगाउन सक्छ ।

नक्कली नोट बैंकका कर्मचारीले सजिलै पत्ता लगाउने भएकाले बजारका होटल, रेष्टुरेण्ट, व्यावसायिक क्षेत्र, सहकारी लगायतको माध्यमबाट गिरोहले बजारमा फैल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...