पोखरा–घलेगाउँ सिधा जीप सेवा सुरु

पोखरा, ११ मंसिर / पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जीप सेवा सुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जीप सेवा सञ्चालनमा ल्याएको हो ।

जीप सेवाको मंगलबार एक कार्यक्रमका बीच सोलासत्तर गाउँपालिकाका अध्यक्ष प्रेम घलले शुभारम्भ गरे । सो अवसरमा बोल्दै घलेले जीप सेवाले ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म पुग्ने पर्यटकको संख्यामा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

पोखरा र घलेगाउँ जाने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी जीप सञ्चालनमा ल्याइएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘घलेगाउँ र पोखरा आवत जावत गर्ने पर्यटकलाई अब सजिलो हुनेछ,’ उनले भने ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले बोलेका थिए ।

समितिका उपाध्यक्ष विज्ञान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । प्रति यात्रु ७ सय ५० रुपैयाँ भाडादर कायम गरिएको जीप इकाईका प्रमुख गोपी लामिछानेले जानकारी दिए ।

कमेन्टहरु
Loading...