पोखरा सभागृहमा एक हप्ता सम्म जुत्ता मेला हुने सहमती

पोखरा, २६ माघ/स्थानीय जुत्ता व्यवसायीको अवरोधका बीच शुक्रबार हुन नसकेको जुत्ता चप्पल व्यापार मेला शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुने मेला शनिबारदेखि एक हप्तासम्म चल्नेछ । आयोजकले सम्पूर्ण उपभोक्ताहरुलाई जुत्ता मेलामा सहभागी भई नेपाली उत्पादनका जुत्ताको प्रबद्र्धनमा सहयोग गरिदिन आवह्वान समेत गरेको छ ।

व्यवसायीहरुकै दबाबमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पनि मेलाका लागि दिएको अनुमतीलाई अन्तिम समयमा आएर बदर गरेको थियो । यद्यपी महानगरपालिकाले पुनः एक हप्ताको लागि पोखरा सभागृहको परिसरमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्न दिनका लागि मञ्जुर भएको आयोजक नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

यस अगाडि महानगरपालिकाले सभागृह हल बाहिरको चौरमा मेला गर्नका लागि एक महिने अनुमती दिएको थियो । स्थानीय व्यवासायीहरुको मागलाई समेत मध्येनजर गर्दै अन्ततः एक हप्ता मेला गर्ने सहमतीसहित महानगरले स्विकृति प्रदान गरेको हो । माघ २६ गते शुक्रबारदेखि शुरु हुने भनिएको जुत्ता मेलाको उद्घाटन प्रतिनीधिसभा सदस्य रविन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको थियो । यद्यपी स्थानिय व्यवसायीहरुको विरोधपछि त्यो कार्यक्रम पनि हुन सकेन ।

शनिबारदेखि शुरु हुने मेलामा रहने स्टलहरुमा नेपाली उत्पादनका जुत्ताहरु मात्रै रहने आयोजक नेपाली जुत्ता घर प्रालिले जनाएको छ । मेलामा नेपालमा जुत्ता उत्पादन गर्दै आएका ९ वटा कम्पनीहरुले एकै ठाऊँबाट आफ्नो उत्पादन बेच्नेछन् । मेलामा बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदम शुज र हाइलाइफका जुत्ताहरु मेलामा विक्रिका लागि राखिने आयोजक कम्पनीले जनाएको छ ।

आयोजक नेपाली जुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशी उत्पादनका जुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ता कम्पनीहरु एकै ठाऊँमा भएर स्थापना भएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमा जुत्ता मेला गर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेला गरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्न गरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमा जुत्ता मेला सम्पन्न गरिसकेको छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ ।

नेपालमा हाल साना र ठुला गरि २ हजारभन्दा बढि जुत्ता उत्पादक कम्पनीहरु रहेका छन् । नेपाली बजारको करिब ५५ प्रतिशत हिस्सा नेपाली उत्पादनले नै धान्ने गरेको छ । नेपालमा वार्षिक ३५ करोडको जुत्ता कारोबार हुँदै आएको छ । १५ अर्ब भन्दा बढिको प्रत्यक्ष लगानी रहेको जुत्ता उद्योगहरुले वार्षिक ३ करोड ७५ लाख जोर जुत्ताचप्पलहरु उत्पादन गर्छन् । त्यसो त नेपाली बजारमा वार्षिक ७ करोड जोर जुत्ताको माग रहेको उत्पादक कम्पनीहरुको तथ्याङ्क छ ।

कमेन्टहरु
Loading...