पोखरा महोत्सवमा ३ करोड बढीको व्यवसाय,डेढ लाख दर्शकद्वारा अवलोकन

माघ ७, पोखरा/युनाईटेड क्लबले पोखरामा आयोजना गरेको चौथो पोखरा महोत्सवमा मंगलबारसम्म ३ करोड भन्दा बढीको व्यवसाय भएको छ । पुस ३० गतेदेखि सुरु भएको महोत्सवको हालसम्म १ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

महोत्सवमा विभिन्न उत्पादनका दुई सय स्टलहरु रहेका छन् । दर्शकहरुको उत्साहजनक सहभागितासँगै सवै स्टलहरुमा अपेक्षा अनुसार व्यापार भएको आयोजकको भनाइ छ । महोत्सवमा प्रदर्शनमा राखिएको संसारकै सवैभन्दा अग्लो चरा अष्ट्रिज दर्शकहरुको आकर्षण बनेको छ । उँटमा चढेर महोत्सव स्थल अवलोकन गर्नेहरुको समेत भिड लागिरहेको क्लबका कोषाध्यक्ष तथा महोत्सव अर्थसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री, पोखरा तारा गायन प्रतियोगिता, दोहोरी, बाल उद्यान, लाइभ पप कन्सर्ट, पुष्पमेला, अटो मेला, पर्यटकीय स्थलको जानकारी र विभिन्न संस्कृतिका झाँकीहरु महोत्सवका आकर्षण बनेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधबार समापन हुने बताइएको छ । महोत्सवको समापन सुपरस्टार राजेश हमालले गर्ने संयोजक बख्रेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...