सृजना चोकदेखि आलु माइला चोकसम्म सडकमा फुड फेस्टिवल तयारी

पोखरा, १४ फागुन / पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ को तयारी थालेको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

मंगलबार पत्रकार सम्मेलन गरि यस पटकको महोत्सव सडकमा आयोजना गरिने तिमिल्सिनाले बताए । पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा फुड फेस्टिवल हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिनेछ ।

स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी हुने फेस्टिबलको तयारीलाई तिब्र बनाइएको तिमिल्सिनाले जानकारी दिए । जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायत टोलबासीको भेलाबाट समर्थन लिइ मेला सडकमा गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए ।

बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ ।

आठौँ रेवान महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० का केही कार्यक्रम जोडिने सिटी रेवान पोखराका महासचिव जीवन दाहालले जनाए । महोत्सवमा व्यवसाय रेष्टुरेन्ट प्रयोजनका लागि १६ स्टल एवं अन्य प्रयोजनका लागि १० स्टल राखिने दाहालले जानकारी दिए ।

महोत्सवमा दर्शकले राष्ट्रिय तथा स्थानिय स्तरका चर्चित लोक दोहोरी कलाकारको प्रस्तुती सँगै सुगम संगित पनि देख्न पाउने आयोजकले जनाएको छ । महोत्सवमा हाँस्य कलाकारहरुको दैनिक प्रस्तुती रहनेछ । स्थानियले उत्पादन गरेका कृषि उत्पादनहरु समेत प्रदर्शनीमा राखिने भएको छ ।

महोत्सवमा दर्शकको मनोरञ्जनका लागि विभिन्न प्रतियोगिताहरु समेत समावेश गरिने भएको छ । महोत्सवमा ढिँडो खाने प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता सँगै भाले छोप्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए ।

महोत्सवमा २० लाख ५० हजार आम्दानी हुने र २० लाख खर्च हुने अपेक्षा समेत आयोजकको रहेको छ । महोत्सवबाट बचत हुने ५० हजार रुपैँया सामाजिक कार्यका लागि खर्च गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...