पोखरामा अटो एक्स्पो गर्न नाडा तयार, यातायात अनुत्पादक क्षेत्र होइन ः व्यवसायी

पोखरा, १७ फागुन / नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले राजधानीमा गर्दै आइरहेको अटो एक्स्पोलाई पोखरामा पनि गर्न तयार भएको छ । पोखराका अटो व्यवसायी तयार रहे नाडाले पोखरामा अटो एक्स्पो गर्न तयार रहेको अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

विभिन्न क्षेत्रको भ्रमणका क्रममा काठमाडौं आएको पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को टोलीसँग अन्तरक्रिया गर्ने क्रममा अध्यक्ष श्रेष्ठले काठमाडौं बाहिर अटो एक्स्पो गर्ने आफूहरुको योजना नै रहेको जानकारी दिए । पोखरामा अटो एक्स्पो गर्न वाडाले गरेको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘हामी पोखरामा अटो एक्स्पो गर्न तयार छौं । त्यसका लागि तपाईंहरु ढुक्क हुनुहोस् ।’

उक्त अवसरमा बोल्दै नाडाका उपाध्यक्ष तथा वाडाका पूर्व अध्यक्ष ध्रुव थापाले पोखरामा अटो एक्सो गर्न पोखराका अटो व्यवसायी तयार रहेको बताए । ‘वाडाले सहयोग गरेमा पोखरामा अटो एक्स्पो आगामी वर्ष नै गर्न सकिन्छ,’ उनले भने । पोखरामा अटो व्यवसायको बजार राम्रो रहेकाले र प्रदेश नम्बर ४ को केन्द्र भएकाले पनि अटो एक्स्पो आवश्यक रहेको उनको धारणा छ ।

यसैबीच, उक्त अवसरमा बोल्दै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले यातायातका साधन सबैका लागि आवश्यक बस्तु भइसकेको धारणा राखे । ‘यातायातका साधनले देशको प्रगति र समृद्धिको प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘यातायातलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन ।’ कार्यक्रममा वाडाका सल्लाहकार वसन्त प्रधान, अध्यक्ष कालिदास पौडेल लगायतले वाडाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

पोखराका अटो व्यवसायी ४ दिने भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेको हो । टोलीले आइतबार हेटौंडा अटोमाबाइल्स डिलर्स एसोसिएसनको टोलीसँग छलफल तथा अन्तरक्रिया गरेको थियो । नगलपरासीको चौधरी ग्रामको अवलोकन र सास्वत धामको दर्शनसमेत गरिएको कार्यक्रम संयोजक तथा वाडाका उपाध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए । हेटौंडा, सिन्धुली हुँदै काठमाडौं आइपुगेको टोली मंगलबार पोखरा फर्किने कोषाध्यक्ष किसनमान बुद्धाचार्यले बताए ।

कमेन्टहरु
Loading...