अत्यावश्यक बाहेकका सबै उद्योग/व्यवसाय बन्द गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा, १० चैत / पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यकबाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट गएको शुक्रबार राष्ट्रको नाममा संवोधन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपीलको अक्षरस पालना गर्न आग्रह गरेको हो । प्रधानमन्त्रीको संवोधनमा चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेका थिए ।

सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध/तरकारी/खाद्यान्न लगायतका अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी÷व्यवसायीहरुलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग संचालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह रहेको छ ।

संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सबै उद्योग÷व्यवसाय बन्द गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भीडमा नजाने र ‘सेल्फ क्वारेण्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ ।

‘औषधि, पानी, इन्धन, दूध/तरकारी/खाद्यान्न लगायतका सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ ’, विज्ञप्तिमा भनिएको छ,‘पोखरा उद्योग वाणिज्य संघ, संकटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी/व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपील गर्दछ ।’

यसैगरि संघले संकको यो घडीमा तोकिएको भन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । संघले यसअघि पनि विज्ञप्ति जारी गर्दै ‘तोकिएको भन्दा बढी मूल्य नलिन र बिक्री बितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो ।

संघले पोखराको टे«ड मलले त्यहाँ भाडामा रहेका व्यवसायीहरुलाई चैत महिनाको घर भाडामा ५०प्रतिशत र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकोमा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीहरुलाई पनि आग्रह गरेको छ ।

‘व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागि रहँदा पनि उद्योगी/व्यवसायीलाई सुख छैन । बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकोमा झुण्डिएकै छ’, महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ संकटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न संघ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपील पनि गर्दछ । ’

संघले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता ग्यारेण्टी गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

कमेन्टहरु
Loading...