व्यापार मेला प्रवेश टिकटको अर्धकट्टीले ५० रुपैयाँ टकटाइमसहित एनटिसीको सिमकार्ड पाइने

पोखरा, १७ पुस / पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो ।

मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार मध्यान्न उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले जानकारी दिए ।

उनका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनहरुका स्टल रहेका छन् । यसैगरि दैनिक उपभोग्य बस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन तथा बिक्रीको लागि राखिएको छ ।

चालीसको दशकमा संघले नै पहिलो पटक व्यवस्थित रुपमा मेला आयोजनाको थालनी गरेको थियो । त्यसपछि २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस्करणहरु उद्यमशीलता वृद्धि तथा आर्थिक गतिविधि चलायमान बनाउन सहायक रहँदै आएको संघको दावी छ ।

अहिले देशभर मेला र महोत्सव आयोजना गर्ने लहर चले पनि पोखरामा आयोजना हुने व्यापार मेला तीभन्दा फरक रहेको महासचिव पोखरेलले दावी गरे । उनले यो मेला नाफामूलक नभई सहभागितामूलक भएको जिकिर गर्दै मेलामा सहभागिताको लागि सबै पोखरेलीसँग आग्रह पनि गरे ।

मेलाको प्रवेश टिकट सर्वसाधारणको लागि ६० र विद्यार्थीको लागि ४० रुपैयाँ राखिएको छ । त्यो टिकट काटेबापत नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँ ब्यालेन्स भएको नेपाल टेलिकमको प्रिपेड सिम दिइने व्यवस्था मिलाइएको संघका उपाध्यक्ष तथा प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताए ।

एउटा फोटो र नागरिकताको फोटोकपी पनि साथै ल्याउन आग्रह गर्दै उनले भने,‘ यो भनेको क्याँस ब्याक योजना नै हो, टिकटमा खर्चेको पैसा फिर्ता भएको मान्दा पनि हुन्छ ।’ उनले प्रवेश टिकटमा दैनिक एकजनालाई लक्की ड्रमार्फत प्याराग्लाइडिङको व्यवस्थासहित अन्य आकर्षक उपहार र बम्बर उपहार पनि राखिएको बताए ।

कमेन्टहरु
Loading...