युएईका राजदूत राष्ट्रिय औद्योगिक व्यापार मेलामा

पोखरा २७ मंसिर ।नेपालका लागि संयुक्त अरव इमिरेट्स (युएई) का राजदूत सइद हमदान मोहमद अल नाक्बीले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् । पोखराको भ्रमणको क्रममा रहेका राजदूत नाक्बीले सोमबार मेला अवलोकनको क्रममा नेपालको निजी क्षेत्रले व्यवसाय प्रवद्र्धनको लागि खेलेको भूमिकाको प्रशंसा गरे ।राजदूत नाक्बीलाई मेलास्थलमा मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वागत गरेका थिए । राजदूत नाक्बीलाई स्वागत गर्दै मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाको विविध पक्षका अलावा पोखराको औद्योगिक तथा पर्यटकीय सम्भावनाबारे जानकारी गराएका थिए ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार सोमबार अन्तर्राष्ट्रिय स्तरका रेस्लिङका खेलाडीहरुले मेलामा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिलाए । यसैगरी ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुति पनि दमदार रह्यो । पाँचौ दिनसम्म करिब ४५ हजार दर्शकले मेलाको अवलोकन र ३ करोड ५० लाख रुपैयाँको कारोवार भएको उनले अनुमान लगाए । यता, मेला अन्तर्गत मंगलबार लोकदोहोरीतर्फ सर्मिला गुरुङ, जीवन दाहाल, कृष्ण देवकोटा, शिवहरि ढुंगाना, गणेश राना, माया गुरुङ, माया गिरि,ईन्द्रा गुरुङ, बालकृष्ण वाग्ले, प्रेम बस्याल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ भने पपतर्फ मिलन अमात्य, तन्त्र ब्याण्ड र साथमा अन्य कलाकारहरुको प्रस्तुति रहने संघका कोषाध्यक्ष तथा मेला साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए ।

युएईका राजदूत राष्ट्रिय औद्योगिक व्यापार मेलामा

यसैगरी मंगलबार पिसिसिआई गायन ताराको नियमित प्रस्तुति , हाँस्य कलाकार गोविन्दर र मुलाको सागको हाँस्य प्रहसनका साथमा विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता तथा मोर्डन डान्स र हाँस्य प्रस्तुतिहरु समेत समावेश गरिएको छ । यसैगरी मेला स्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निशुल्क नमस्ते प्रिपेड सिम बितरण समेत भइरहेको संघका कार्यसमिति सदस्य नारायण प्रसाद पौडेलले बताए ।उनका अनुसार ५० रुपैयाँ पैसा भएको सिम कार्ड लिनको लागि नागरिकता वा सवारी चालक अनुमतिपत्रको फोटोकपी, प्रवेश टिकट तथा एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

कमेन्टहरु
Loading...