प्रतिकुल मौसममा पनि ४० हजारले मेला हेरे, दुई करोडको कारोवार

पोखरा, २४ फागुन/पोखरा आज अनौठो मान्यो, कारण पनि थियो,कहिल्यै नदेखेका र नसुनेका मान्छे देखे पोखरेलीहरुले ।त्यो संयोग जुराईदियो पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेलाले ।

पोखराको नयाँबजारमा जारी मेलामा सोमवार सात देशका साँस्कृतिक कार्यक्रम देखियो । विदेशीका कला देखेका सोमबहादुर गुरुङ्ले भने, ‘विदेश जान सकिएन, आँगनमै सबथोक देखियो ।’ उनको कुरा सुनेपछि मेलाका साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले भने –‘केही त गरिएछ ।’ मेला आयोजक सँस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजूका अनुसार ४० हजार भन्दा बढीले मेलाको अवलोकन गरे । मेला चौथो दिनमा जाँदै गर्दा कारोवार पनि झण्डै २ करोड पुग्यो ।

मेलामा सोमवार कन्दरा ब्याण्डले सहभागीहरुलाई हुनसम्मको मनोरञ्जन दियो । पोखरामा जन्मेर राष्ट्रिय ख्याती आर्जन गरेको कन्दराले तगारोमा रुमाल राखी मात्रै सुनाएन, हिउँ त होईन फाप्रेको डँगुर सम्मको गीत गाएर शिरात्रीलाई अविष्मरणीय बनायो । धेरै समयदेखि कन्दरा व्याण्डको लाईभ प्रस्तुतीको स्वाद चाख्न नपाएका पोखरेलीलाई कन्दराले मोहित बनायो ।

मंगलवारको दिनमा जुनु रिजाल र रामचन्द्र काफ्लेले भरपुर मनोरञ्जन दिने उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजूले बताए । यसैगरी लोकदोहरीतर्फ प्रजापति पराजुली, अमर विरही गुरुङ्, शिव हमाल, जीवन दाहाल, शिवहरी ढुँगाना, विजय केसी लगायतकाले मनोरञ्जन प्रदान गर्नेछन् ।यसैगरी पार्वती जिसी, ईन्द्रा गुरुङ र दुर्गा गुरुङ् पनि महोत्सवका आकर्षण रहनेछन् । पोखरेली धुर्मुस युवराज भण्डारी र राजेन्द्रले पनि महोत्वलाई मनोरञ्जनमय बनाउने संघका कार्यसमिति सदस्य पवनकुमार प्रजापतिले बताए ।

कमेन्टहरु
Loading...