राष्ट्रिय औद्योगिक व्यापार मेला पुषमा, सफल एक्स्पोबाट करिब ४ लाख बचत

पोखरा, ३ असार/ पोखरा उद्योग वाणिज्य संघले मंसिरमा आयोजना गरेको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’ बाट ३ लाख ८७ हजार रुपैयाँ बचत गरेको छ । संघले गत वर्षको आयव्यय सार्वजनिक गर्दै आगामी पुस १८ गतेदेखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६’ आयोजना गर्ने जानकारी दिएको छ ।

एक्स्पो सम्पन्न गर्न ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च भएको र ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेला २०७५ साल मंसिर १३ गते देखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघले आयोजनाकै क्रममा पोखराका विभिन्न ५८ वटा आमा समूहहरुलाई सहयोग गर्ने क्रममा १ लाख ३६ हजार ९ सय रुपैयाँ बराबरको भौतिक सामाग्री प्रदान गरिएको थियो । संघले सामािजक उत्तरदायित्व बहनको जिम्मेवारी बोध गर्दै बालश्रम न्यूनिकरण कार्यक्रमको लागि टिकटमा नै छुट्याइएको १ रुपैयाँले बालश्रम न्यूनिकरणको लागि सहयोग प्रदान गर्दै आएको छ । एक्सपो आयोजनाको लागि संघले १ लाख ५६ हजार १ सय ५२ रुपैयाँ आन्तरिक राजश्व कार्यालयमा राजस्व समेत बुझाएको महासचिब अर्जुन पोख्रेलले जानकारी दिए ।

मेलालाई नेपाल मोवाइल बितरक संघ, पोखराले एक्सपोमा सहकार्य गरेको थियो । एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी ३ सयको हाराहारीमा स्टलहरु रहेका थिए । पुषमा हुने महोत्सवलाई अझ उत्साहका साथ आधुनीक बनाइने पोख्रेलले बताए ।

पत्रकार सम्मेलनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले पोखरा उद्योग वाणिज्य संघले पोखराको समग्र विकासमा दिएको योगदानको चर्चा गर्दै संघ सबैको साझा संस्था भएको बताए । उनले मेला र महोत्सव उद्यमशीलता विकास र अर्थतन्त्रलाई चलायमान बनाउन आयोजना गरिने भएकोले यसमा सबै पोखरेलीको सहयोग पाउने विश्वास व्यक्त गरे ।
संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले आउँदो मेलालाई सबै पोखरेलीको मेला बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि मेलालाई उपयोग गर्ने पनि उनको उद्घोष थियो । यसअघि मेला मूल आयोजक समितिको बैठकबाट मेलालाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरियो । मूल आयोजक समिति तथा कार्यसम्पादन समितिका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको सो बैठकमा बोल्ने अधिकांश वक्ताहरुले मेला र महोत्सव पोखरा उद्योग वाणिज्य सघले सुरु गरेको स्मरण गर्दै यसको निरन्तरताको कामना गरेका थिए ।

कमेन्टहरु
Loading...