पोखरा उद्योग वाणिज्य संघको ३१ औँ महाधिवेशन भदौ ३१ देखी

पोखरा, २६ साउन / पोखरा उद्योग वाणिज्य संघको ३१ औँ महाधिवेशन आउँदो भदौ ३१ र असोज १ गते हुने भको छ । संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामाा बुधबार ( आज ) बसेको कार्यसमिति बैठकले अधिवेशन सो निर्णय गरेको हो ।

संघको महाधिवेशनले आगामी कार्यकालको लागि संघको नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बैठकले संघको विधानको परिच्छेद ९ को धारा ९.१ अनुसार संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ( हार्डवयर एण्ड पेन्ट्स )को संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समितिको सह संयोजकमा राजेन्द्रकुमार बाटाजु( दीप ट्रेडर्स ) र सदस्यहरुमा ईन्द्रप्रसाद शर्मा( मोडल ड्रग हाउस ) डम्बरसिँह गुरुङ( अन्नपूर्ण फुडस् एण्ड वेभरेज प्रालि) र निरञ्जन श्रेष्ठ( मेलोडियस भिजन ) सदस्य रहनु भएको छ । संघका कानूनी सल्लाहकार दामोदर अधिकारीलाई निर्वाचन समितिको कानूनी सल्लाहारमा चयन गरिएको छ ।

संघको विधान २०६५ को पहिलो संशोधन २०७२ का अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष( उद्योग), उपाध्यक्ष( वाणिज्य ), महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहितको २५ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । कार्यसमितिको सदस्यको हकमा साधारण सदस्यहरुले साधारणतर्फबाट १० जना, कर्पोरेट सदस्यहरुको हकमा आफूहरुमध्येबाट २ जना कर्पोरेट सदस्य,बस्तुगत संघहरुले आफूहरुमध्येबाट ४ जना र औद्योगिक सदस्यहरुले आफूहरुमध्येबाट १ जनालाई कार्यसमितिमा निर्वाचित हुने व्यवस्था रहेको संघको सचिवालयले जनाएको छ ।

विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २९ सदस्यीय रहनेछ ।

कमेन्टहरु
Loading...