ओम डेभलपमेन्ट बैकले मनास्लुलाई गाँभेर ३० प्रतिशत हकप्रद जारी गर्ने

पोखरा, १ चैत /ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनीको मंगलबार सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको हो । मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट पारित भएको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । हाल ओमको चुक्ता पूँजी एक अर्ब ३६ करोड र मनास्लुको चुक्ता पूँजी ३० करोड रुपैँया रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६४ करोड ३९ लाख रुपैँया पुग्नेछ ।

बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड ७० लाख रुपैँया पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्षको कमाईबाट दिईने बोनसबाट चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बैंकको रहेको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्म १९ करोड २ लाख खुद नाफा गरेको छ भने उता मनास्लुले पौष मसान्तसम्ममा तीन करोड सात लाख रुपैयाँ खुद मुनाफा गर्न सफल छ ।

कमेन्टहरु
Loading...