होटल संघद्वारा नो हर्न अवधारणाको स्वागत्

पोखरा, १ साउन : पोखरा लेखनाथ महानगरलाई हर्न निशेधित् क्षेत्र घोषणा गरिएकोमा पश्चिमाञ्चल होटल संघ पोखराले हार्दिक स्वागत गर्दै सम्वन्धित पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।
संघले लामो समयदेखि पर्यटकीय लेकसाइडलाई नो हर्न जोन घोषणा गर्न माग गर्दै आएकोमा अहिले आएर सिंगो महानगरलाई नै नो हर्नको दायरामा ल्याइएकोमा संघका अध्यक्ष विकल तुलाचनले महत्वपूर्ण कदम भनी टिप्पणी गरेका छन् । नो हर्नको अवधारणाले सिंगो पोखरामा ध्वनी प्रदूषण नियन्त्रण गर्न सघाउ पुग्ने र यसले पर्यटकीय नगरीमा शान्त वातवरण समेत सिर्जना हुने भन्दै अध्यक्ष तुलाचनले महानगर कार्यालयप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
नो हर्न जोन घोषणका लागि आइतवार पोखरामा आयोजित ¥याली र सभामा संघका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले सक्रिय सहभागिता समेत जनाएको संघले जनाएको छ । नो हर्न जोन घोषणाका अतिरिक्त अन्य प्रकारका ध्वनी प्रदूषणलाई समेत अन्त्य गर्नेतर्फ कदम चाल्न संघले पोखरा महानगरको ध्यानाकर्षण गराएको छ ।
यसैगरी संघले नो हर्न जोन घोषणा सस्तो लोकप्रियताको कार्यक्रममा मात्र सीमित नराखी पूर्वाधारहरु खडा गरेर ट्राफिक प्रहरीसँग सहकार्य गर्दै वास्तविक कार्यान्वयनमा लैजान समेत माग गरेको छ । नो हर्नको अवधारणालाई सफल पार्न सम्पूर्ण पोखरेली र पोखरामा यात्रा गर्ने सबैप्रति संघले अपिल समेत गरेको छ ।
कमेन्टहरु
Loading...