विद्यार्थी नेताहरु रेष्टुराँ व्यवसायमा, २ करोड लगानीमा ‘न्यू एरा’

सुरेन्द्र पौडेल
पोखरा, १० पौष/पोखरामा केही विद्यार्थी नेताहरुको लगानीमा ‘न्यू एरा रेष्टुराँ एण्ड पार्टी प्यालेस’ शनिबारदेखि सञ्चालनमा आएको छ । पोखराको जिरोकिलोमिटरमा रू २ करोड लगानीमा स्थापना गरिएको आधुनिक सुविधा सम्पन्न रेष्टुराँमा पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका पूर्व सभापति पदम गिरी, वर्तमान सचिव दीलिप न्यौपाने र विद्यार्थी नेता लक्ष्मण गिरीको लगानी रहेको छ ।

New Era Restaurent४ रोपनी क्षेत्रफलमा फैलिएको रेष्टुराँमा एसीसहितको ८ सय क्षमताको सभाहल, दुई ओटा सेमिनार कक्ष र ३ ओटा सभा कक्ष रहेको सञ्चालक दीलिप न्यौपानेले जानकारी दिए । आधुनिक बारको सुविधा रहेको रष्टुराँलाई मनोरम खुल्ला बगैँचाले विशेष आकर्षण बनाएको छ । प्रयाप्त पार्किङ सुविधासहित सञ्चालनमा आएको रेष्टुराँमा पोखरा लगायत पश्चिम क्षेत्रका मुख्य पर्यटकीय स्थानहरुको बृतचित्रसमेत प्रदर्शनमा राखिएको मेनेजर लक्ष्मण गिरीले जानकारी दिए । सवै वर्ग र तहका मानिसहरुलाई लक्षित गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको गिरीले बताए ।

रेष्टुराँमा स्वदेशी, विदेशी, मौलिक नेपाली स्वादका विशेष परिकार खुवाइने बताइएको छ । ‘सुलभ मूल्यमा ग्राहको चाहना अनुसारको खाना तथा खाजा खुवाउँछौं’ सञ्चालक न्यौपानेले भने, ‘ग्राहकको सेवा सुविधा नै हाम्रो प्राथमिकता हो ।’ स्वस्थकर एवं स्वादिष्ट नेपाली स्वादका विभिन्न परिकार, चाइनिज कन्टिनेन्टल लगायतका विभिन्न परिकारहरुसमेत ग्राहकको आकर्षण बन्ने सञ्चालकहरुको विश्वास छ । रेष्टुराँमा ग्राहकलाई सर्भिस चार्ज नलिने बताइएको छ ।

होम डेलिबरीको व्यवस्था गरिएको रेष्टुराँमा ग्रुपमा आउनेलाई विशेष छुट प्रदान गरिने सञ्चालक पदम गिरीले जानकारी दिए । रेष्टुराँमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै रेष्टुराँले सामाजिक उत्तरदायित्व अन्तर्गत मूल नाफाको १० प्रतिशत रकम न्यू एरा सामाजिक कल्याण कोषमा जम्मा गरेर सामाजिक कार्यमा खर्चिने सञ्चालक दीलिप न्यौपानेले जानकारी दिए ।

उक्त पार्टी प्यालेसको औपचारिक उद्घाटन शनिबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष कोइरालाले राजनीतिमा सक्रिय युवाहरुले व्यवसायको सुरुवात गर्नु उदाहरणीय कार्य भएको बताए । राजनीतिलाई पेशा होइन सेवाको रुपमा विकास गरिनुपर्ने माग भइरहेको अवस्थामा विद्यार्थी राजनीतिमा सक्रिय युवाहरुले व्यवसायको सुरुवात गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।

कमेन्टहरु
Loading...