आर्थिक वर्ष २०७६/०७७ को १५ खर्ब ३२ अर्बको बजेट (यस्तो छन् मुख्य मुख्य बुदाँ)

काठमाडौं, १६ जेठ /सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन् ।

अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्ब सहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट ल्याउन बताए ।

सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । खतिवडाले यो वर्षको बजेटमा लोकप्रिय कार्यक्रम ल्याएका छन् ।

कर्मचारीको तलब बढ्यो

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि गरेका छन् ।

राजपत्राकिंतको १८ प्रतिशत र राजपत्रअनकिंतको २० प्रतिशत तलब बृद्धि गरेको छ ।

सरकारले विभिन्न पदमा फरक फरक अनुपातमा आधारभूत तलब बढाएको उल्लेख गरे ।

रेलमार्ग बनाउन ७ अर्ब ७० करोड

रेलमार्गहरुको लागि आगामी वर्षमा ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमागले पाएको थियो । अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्य रुपमा रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ ।

सरकारले चीन तथा भारतलाई रेलमार्गले काठमाडौंमा जोड्ने महत्वकांक्षी आयोजना अघि बढाउने बताए । रक्सौल काठमाडौं र केरुङ काठमाडौं जोड्ने रेल अनुदानमा बनाइदिन नेपालले भारत र चीनसामू प्रस्ताव गरेको छ ।

यस्तै काठमाडौं लुम्बनी र काठमाडौं पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल बजेटमा उल्लेख गरेको छ ।

सरकारलाई पेट्रोल र डिजेलबाट थप १ रुपैयाँ शुल्क

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ । सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा सडक मर्मतमा बजेटको अभाव हुन नदिन पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ सरकारले लिने बताएका हुन् ।

यो घोषणासँगै अब पेट्रोल र डिजेलको मूल्य वृद्धि हुने भएको छ । यसअघि बुढीगण्डकी जलविद्युत आयोजना निमार्णका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रम देशभर, बीमा रकम दोबर

स्वास्थ्य बीमालाई देशभर पु¥याउने घोषणा गरेका छन् । सरकारले त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा पुर्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराए । उनले अहिले ५० हजार रहेको विमा रकमलाई १ लाख रुपैया पु¥याउने घोषणा गरेको छ ।

यस्तै गरिबी रेखामुनी रहेका र जेष्ठ नागरिकहरुको स्वास्थ्य बीमा शुल्क सरकारले व्योहोर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने बीमांक रकम एक लाख रुपैयाँलाई निरन्तरता दिएको छ ।

जग्गा भाडामा लिन निती बन्ने, स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने, पर्यटनलाई २ अर्ब

जग्गा भाडामा लिई कृषी तथा अन्य व्यवसाय गर्ने ब्यवस्था गर्ने बताएका छन् । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याइएको प्रस्तुत गरे ।

बन्द तथा रुग्ण उद्योगलाई सहकारी र निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने योजना छ ।

नेपाली उत्पादन सामग्री, सिमेन्ट, डण्डी र रङ सकभर नेपाली उत्पादन नै प्रयोग गर्ने घोषणा गरे । औद्योगिक पुर्वाधार विकासका लागि २ अर्ब ८७ करोड छुट्याइएको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो ।

सरकारले बेरोजगारलाई कम्तिमा सय दिन काम दिन नसके वाषिर्क २५ हजार ८ सय ५० रुपैयाँ भत्ता दिन अघिल्लो बर्षको बजेटमा उल्लेख थियो ।

यो वर्ष मात्रै यस कार्यक्रमका लागि २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रुपमा उपलब्ध गराइएको छ । जसमार्फत यसै वर्ष १ लाखभन्दा बढी युवालाई ६० दिन दिनको काम दिने सरकारी तयारी छ ।

सामाजीक सुरक्षा र जेष्ठ नागरिकको भत्ता बढ्यो

सरकारले सामाजिक सुरक्षा कार्यक्रमको भत्ता बढाएको छ । गर्भावस्थाद वृद्धावस्था सम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिकलाई दिइने भत्ता बढाएर ३ हजार बनाइएको छ । यसअघि २ हजार दिँइदै आएकोमा १ हजार थपेर ३ हजार पु¥याएको हो ।

अन्य क्षेत्रमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता १ हजार बढाइएको खतिवडाले बताए । करिब २१ लाख नागरिकका लागि यसरी भत्ता बढाइएको उनले उल्लेख गरे ।

बृद्धा भत्ताबाट १३ लाख र सामाजिक सुरक्षा भत्ता अन्तरगत ९ लाख लाभाम्बीत हुने उनले बताए ।

सांसदले ६ करोड आफूखुसी खर्च गर्ने

अर्थमन्त्री खतिवडाले सांसदले आफूखुसी आयोजना छनोट गर्ने र बजेट खर्च गर्न सक्ने रकम बढाइदिएका छन्।

गतवर्ष ४ करोड बजेट दिएका खतिवडाले यसवर्ष ६ करोड बजेट दिएका छन्। उनले यस्तो बजेट खर्च गर्ने कार्य्विधि संशोधन गरेर प्रतिनिधिसभाका समानुपातिक र राष्ट्रियसभाका सांसदलाई विनियोजनमा सहभागी गराउने जनाएका छन् ।

हवाई पूर्वाधार र ऊर्जा क्षेत्रको बजेट घट्यो

सरकारले ऊर्जा क्षेत्रको बजेट घटाएको छ । ऊर्जा क्षेत्रमा यसवर्ष ४० करोड रुपैयाँ कम बजेट विनियोजन गरिएको हो ।

यस वर्ष सरकारले ऊर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड रुपैयाँ दिएको छ । चालू वर्ष ८३ अर्ब ८९ करोड बजेट रहेको छ । सरकारले यस वर्ष बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ बजेट छुट्याएको छ।

त्यस्तै हवाई पूर्वाधारमा ३ अर्ब ५० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेकोमा यसवर्ष १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

धेरै बजेट पूर्व-पश्चिम राजमार्गमा

बजेटको सबभन्दा ठूलो खर्च पूर्व-पश्चिम राजमार्गलाई छुट्याएका छन् । पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

त्यस्तै नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्ट ट्र्याकमा १५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले बजेटमा सडकलाई अन्त्यन्त धेरै प्राथमिकता दिएको छ।

पुष्पलाल मध्यपहाडी राजमार्गको ४ सय ३५ किलोमिटर पीच गर्न १२ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइएको छ। हुलाकी राजमार्गको ३ सय ५० किलोमिटर लागि १३ अर्ब ६३ करोड रुपैयाँ छुट्याएको छ। बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ छुट्याइएको छ।

कमेन्टहरु
Loading...