सचेन हुनुहोस्, पोखरामा नक्कली छ्प्पछ्प्ती, नक्कली नोट कसरी थाहा पाउने ?

प्रकाश ढकाल
पोखरा, ९ बैशाख/पोखरामा दिनहुँजसो नक्कली नेपाली नोट भेटिन थालेको छ । राष्ट्रबैंकका अनुसार गएको माघ दोश्रो सातादेखि नक्कली नोट भेटिएको हो । चैत पहिलोसाता देखि भने परिणाम बढ्दै गएको छ । हालसम्म पोखराबाट मात्रै ८१ वटा पाँच सयका नक्कली नोट राष्ट्रबैंकमा जम्मा भैसकेको कामु निर्देशक बृहस्पती अधिकारीले जानकारी दिए । त्यसमध्ये ७९९७४६ नम्बरको ४८ र ६७९७४६ नम्बरको ३३ थान फेक नोट भेटिएको छ । ‘माघको १३ गते नै दुईवटा नक्कली नोट राष्ट्रबैंकमा आईपुगेको थियो ।

त्यसपछि हामीले निगरानी बढायौं, उनले भने–केही समय रोकिएर चैत पहिलो साता लागेपछि छ्यापछ्याप्ती नक्कली नोट देखिन थालेको हो ।’ उनका अनुसार दुई फरक नम्बरका नोटहरु बजारमा भेटिएको छ । ठूलो परिणाममा नक्कली नोट भेटिएपनि नोट परिचालन बारे पत्ता लागेको छैन । ‘नक्कली नोट भेटिएपछि सबै बैंक तथा वित्तिय संस्थालाई सतर्क रहन आग्रह गरेका छौं । शंका लागेपछि उहाँहरुले राष्ट्रबैंकलाई खवर गर्नुहुन्छ, अधिकारी भन्छन्–शंका लागेका मान्छेलाई नियन्त्रणमा लियर अनुसन्धान गर्छौं ।’

नक्कली नोट भेटिएको तीन महिना बितिसकेपनि नोटको कारोबारबारे प्रहरी बेखवर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख घनश्याम अर्यालले नक्कली नोटबारे सम्बन्धित निकायले जानकारी नगराएको बताए । ‘राष्ट्रबैंकबाट कुनै खवर आएको छैन, उनले भने–हामी हाम्रै हिसावले अनुसन्धान गरिरहेका छौं । औपचारिक खवर भए सजिलो हुन्छ ।’ पोखराका बैंक तथा वित्तिय संस्थाहरुले भेटिएका नक्कली नोटहरु राष्ट्रबैंकमा बुझाएका छन् । पोखराका विभिन्न बैंकहरूमा डिपोजिटका लागि आउने बण्डलका बीचबीचमा नक्कली नोटहरू फेला परेका हुन् । सहकारीबाट आउने बण्डलमा बढी नक्कली नोट भेटिने गरेको फेवा विकास बैंकका सिइओ रेशम बहादुर थापाले बताए । ‘एक सातामै ८ वटा नक्कली नोट भेटिएको छ ।

त्यसमध्ये पाँचवटा सहकारीले जम्मा गर्न ल्याएको बण्डलमा भेटियो, उनले भने–एउटै नम्बर भएका फेक नोट भेटिने क्रम बढ्दो छ । यो बिषयमा हामी सजग छौं ।’ दिनहुँजसो नक्कली नोटको कारोबार बढेपछि पोखराका बैंकहरुले नक्कली नोट पत्ता लगाउने मेसिन जडान गर्न थालेका छन् । बैंकहरूमा रहेको ‘फेकनोट डिटेक्टर मेशिन’ ले सजिलै नक्कली नोट पत्ता लगाउँछ । तालिम प्राप्त कर्मचारीले पनि नक्कली नोट सजिलै पत्ता लगाउन सक्छन् । ‘नक्कली नोट छुँदाखेरि नै फरक हुन्छ, कैलाश विकास बैंकका सूर्य प्रसाद तिवारीले भने–त्यसका लागि सबै टेलरमा कर्मचारी चनाखो हुनुपर्छ ।’

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट फेला परेपछि नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको आशंका गरिएको छ । सक्कलीजस्तै देखिने नोट उच्चस्तरको फोटोकपी गरेर बजारमा ल्याएको हुन सक्ने अनुमान बैंकरहरुको छ । एउटै नम्बरका नोटहरु छ्यापछ्याप्ती भेटिएपछि एउटै गिरोहले नोटको कारोबार गरेको हुन सक्ने राष्ट्रबैंकका डेपुटि गभर्नर चिन्तामणी शिवाकोटीले बताए । ‘धेरै नम्बरबाट नोट छाप्न समय लाग्ने भएकाले एउटै नम्बर प्रयोग गरेको हो, उनले भने–यसले हाम्रो सिस्टममा समस्या खडा गरेको छ ।’ शुक्रबार पोखरामा रहेका बैंक तथा बित्तीय संस्थाका पदाधिकारीसँग छलफलका क्रममा उनले जाली नोट प्रयोगमा ल्याउनेलाई पक्राउ गरेर कानुन अनुसार कारबाही गर्ने जानकारी दिए ।

उनका अनुसार राष्ट्रबैंकले क्यासलेस वा लोक्यास सोसाईटीमा जाने तयारी गरिरहेको छ । यसका साथै आर्थिक साक्षरता देशभर अभियानका रुपमा सञ्चालन गर्ने शिवाकोटीले बताए । छलफलका सहभागीहरुले जतिसक्दो छिटो कारोबारीलाई पक्राउ गरेर कारबाही गर्न सुझाए ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ बमोजिम जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा ऐन अनुसार कसुर गरेको मानिन्छ । यस्तो कसुर गर्ने व्यक्तिलाई बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनको महल ६ मा व्यवस्था गरिएको छ ।

पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी
पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी

नक्कली नोट कसरी थाहा पाउने ?

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ । सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन । सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ । सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।

सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको सहजै पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् । नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।

सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुटै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन । सक्कली र जाली नोट सामान्य हिसावले पत्ता लागेन भने फेक नोट डिटेक्टर मेसिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै युवि लाईट र मेग्नीफाईन ग्लासबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।

कमेन्टहरु
Loading...