पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी

सुरेन्द्र पौडेल/पोखरा, ३१ चैत पोखरामा नक्कली नोटहरु दिनहुजसो फेला पर्न थालेका छन् । पोखराका विभिन्न बैंकहरुले नक्कली नोटहरु धमाधम फेला पारेर राष्ट्रबैंक पोखरा शाखालाई बुझाएका छन् । एक साता अगाडिदेखि बजारमा बारम्बार एउटै नम्बरका नोटहरु फेला परेका छन् । केही फरक फरक नम्बरका नक्कली नोटहरु पनि बजारमा फेला परेको स्रोतले बतायो ।

एक साता अगाडिबाट नक्कली नोटहरु फेला परेपनि कसरी नक्कली नोट बजारमा छ्याप्छ्याप्ती भएको छ पत्ता लागेको छैन । नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीसँग यस विषयमा जिज्ञासा राख्दा बजारमा एउटै नम्बरका नोटहरु फेला परेको स्वीकार गरे । ‘बैंकहरुले फेला पारेका एउटै नम्बरका नोटहरु राष्ट्रबैंकमा बुझाउने क्रम जारी छ,’ उनले भने, ‘कसरी एउटै नम्बरका नोटहरु बजारमा फैलिएका छन् हामीले अनुसन्धान गरिरहेका छौं ।’ कुन कुन बैंकबाट कतिवटा नक्कली नोटहरु आएका छन् आफ्नो व्यस्तता देखाउँदै बिस्तृत सूचना भने उनले दिन मानेनन् । आर्थिक आवाज अर्धसाप्ताहीकमा खबर छ ।

पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी
पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी

केही बैंकहरुले बुधबार र केही बैंकहरुले बिहीबार पनि नक्कनी नोटहरु फेला पारेका छन् । पोखराका विभिन्न बैंकहरुमा डिपोजिटका लागि आएका ५ सय र एक हजार रुपैयाँ नोटहरु नक्कली फेला परेका छन् । डिपोजिटका लागि आउने बण्डलमा बिचबिचमा नक्कली नोटहरु फेला परेका हुन् । पोखराको न्युरोडमा रहेको सिटीजन बैंकको शाखाले मात्र बजारमा डिपोजिटका लागि आएका ३ वटा एउटै नम्बरको नोट फेला पारेको छ । एनआइसी एसिया बैंक पोखरा शाखाले मात्र आफ्नो बैंकमा डिपोजिटका लागि आएका ८ वटा नक्कली नोटहरु पत्ता लगाएर राष्ट्र बैंकलाई बुझाइसकेको छ । बैंकले १ हजारका ३ वटा र केही ५ सयका थप नक्कली नोटहरु पत्ता लगाएर राष्ट्र बैंकलाई बुझाउँदैछ ।

नबिल बैंकको ट्याग लगाएको एउटा बण्डल सिटीजनमा डिपोजिटमा लैजाने क्रममा पनि नम्बर दोहोरिएको नोट फेला पारेपछि सिटीजनले नबिल बैंकलाई नै उक्त नोट फिर्ता गरेको थियो । पछि उक्त नोट नबिल बैंकले नक्कली हो होइन पत्ता लगाउन राष्ट्रबैंकलाई बुझाइसकेको छ । पोखरामै प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकको न्युरोड शाखामा पनि एउटै नम्बरका २ वटा नोट फेला परेको छ ।

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट फेला परेपछि नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको आशंका गरिएको छ । बैंकहरुमा रहेको ‘फेकनोट डिटेक्टर मेसिन’ले सजिलै नक्कली नोट पत्ता लगाउँछ । तालिम प्राप्त कर्मचारीले पनि नक्कली नोट सजिलै पत्ता लगाउन सक्छन् । ‘नक्कली नोट छुँदाखेरी नै फरक हुन्छ,’ एक बैंकरले भने, ‘बैंकका हरेक टेलरका कर्मचारी चनाखो बन्नुपर्ने देखिएको छ ।’

कमेन्टहरु
Loading...